Matra Education आइतबार, साउन १० २०८३

टेक्सास स्कुलमा महिला सशक्तीकरणमा युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

टेक्सास स्कुलमा महिला सशक्तीकरणमा युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • शुक्रबार, फाल्गुन २३ २०८१


काठमाडौँ- चाबहिल सिफलस्थित टेक्सास इन्टरनेसनल सेकेण्डरी स्कुलले अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८) को अवसरमा ‘महिला सशक्तीकरणमा युवाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीको सभाहलमा आयोजित कार्यक्रम विद्यालयको शैक्षिक क्यालेन्डरमा उल्लेख गरी अनुसार आयोजना गरिएको हो।

उक्त कार्यक्रममा सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजनकी उपमहाप्रबन्धक आरती चटौत र नेपाल प्रहरीकी पूर्व डीआईजीपी शिला कंशाकार कार्की विशेष वक्ताका रूपमा रहेका थिए। विद्यालयका प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठ, संयोजक लेखराज घिमिरे, अन्य शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूको समेत उल्लेख्य सहभागिता कार्यक्रममा रहेको थियो।

कार्यक्रमको सञ्चालन विद्यालयका सामाजिक शिक्षक अपूर्व सुवेदीले गरेका थिए। विद्यालयका छात्रा काजल पोखरेल र आशना सुवेदीले अतिथि वक्ताहरूसँग महिला सशक्तीकरण तथा युवाको भूमिकाका विषयमा अन्तरक्रिया गरेका थिए।

अतिथिहरूले महिला सशक्तीकरणका लागि शिक्षा, अवसर र आत्मविश्वासको महत्त्वबारे प्रकाश पार्दै युवा पुस्ताले समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्न सक्ने धारणा व्यक्त गरे। कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै जिज्ञासा राखेका थिए।

कार्यक्रममा बोल्दै अतिथि चटौतले समाज रूपान्तरण हुनुपर्छ र देश राम्रो हुनुपर्छ भनेर सबै आ-आफ्नो ठाउँबाट लागिरहेको उल्लेख गरिन्। भोलिको भविष्य आजको विद्यार्थीमा छ भनेर आफू कार्यक्रममा आएको उनले बताइन्। आफूले आफ्नो अध्ययनमा कहिल्यै सम्झौता नगरेको बताएकी उनले परिवारको डाक्टर बनाउने इच्छाविपरीत पत्रकारितामा को र आफ्नै मनलाई सुनेको हुँदा सफल बहेको बताइन्। कुनै पनि क्षेत्रमा त्यसै सफल नभइने भन्दै उनले नयाँ प्रयास गर्न र असफलता सँग नडराउन विद्यार्थीलाई सुझाव दिइन्।

त्यस्तै, पूर्व डीआईजीपी कार्कीले सानैदेखि सरकारी सेवामा रुचि भएको र एक जना साथीबाट उत्प्रेरित भएर प्रहरी सेवामा लागेको बताइन्। प्रहरी हुँदा पनि परिवारले नमानेको र अनेक चुनौती स्विकारेर काम गरेको बताएकी उनले अहिलेको पुस्ताले आइसिटी (सूचना तथा प्रविधि) मा जोड दिन सके अझ राम्रो हुने उल्लेख गरिन्। कुनै पनि क्षेत्रमा सफल हुन नयाँ प्रयास आवश्यक हुने उनको भनाई थियो।

दुवै अतिथि वक्ताले महिला सशक्तीकरणका लागि भइरहेको प्रयास र अहिलेको अवस्था बारे विशेष चर्चा गरे।

कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै विद्यालयका प्रधानाध्यापक श्रेष्ठले महिला सशक्तीकरणका लागि शिक्षा नै प्रमुख आधार भएको र यस किसिमका कार्यक्रमले प्रयोगात्मक सिकाइमा जोड दिने बताए । श्रेष्ठले भने, ‘हाम्रा विद्यार्थीहरूले यस किसिमको कार्यक्रमबाट धेरै सिक्ने अवसर पाएका छन्। युवाहरूले आफूलाई सक्षम बनाउन शिक्षालाई प्राथमिकता दिनुपर्छ। हाम्रो विद्यालयले सधैँ यस्ता सचेतनामूलक कार्यक्रम गर्दै जानेछ।’

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड