काठमाडौँ- भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू भारत फर्कन नमानेपछि विभिन्न विकल्पहरूको खोजी हुन थालेको छ। यसैको एक विकल्पका रूपमा नेपालका तिन विश्वविद्यालयहरुले ती विद्यार्थीहरूले क्रेडिट आवर ट्रान्सफर गरेर यहाँ पढ्न पाउने व्यवस्था गरेका हुन्।
पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै क्रेडिट आवर ट्रान्सफर गर्न दिने उल्लेख गरेका छन्।
केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्यालाई समाधान गर्न त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले जानकारी गराउन भनेका छन् । त्यस्तै काठमाडौँ विश्वविद्यालयले भने त्यसका लागि ओपन हाउस छलफलको आयोजना गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ती विश्वविद्यालयहरूसँग समन्वय गरेर केआईआईटी विश्वविद्यालयबाट प्रभावित विद्यार्थीहरूले आफ्नो अध्ययनलाई निरन्तरता दिन नेपालमै क्रेडिट ट्रान्सफर नीति अनुसार त्रिवि र पूर्वाञ्चलमा शैक्षिक कार्यक्रमहरू सुचारु गर्न सक्ने शिक्षा मन्त्रालयले जनाएको छ ।
नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि होस्टेलमा बस्दै आएका नेपाली विद्यार्थीमाथि दुर्व्यवहार भएको थियो। त्यसपश्चात् उत्पन्न परिस्थितिले नेपाली विद्यार्थी त्यहाँ फर्केर अध्ययन गर्न सक्ने अवस्था नबनेको हो।