काठमाडौँ- टोखा स्थित लिटिल रोज मन्टेश्वरी स्कुलले अभिभावक दिवस सम्पन्न गरेको छ। गत शनिवार विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रमका बिच विद्यालयले कार्यक्रम सम्पन्न गरेको हो। एउटा विद्यालयलाई सफल बनाउनका लागि अभिभावकहरूको अहम् भूमिका हुने हुँदा त्यसलाई व्यक्त गर्नका लागि अभिभावकहरू प्रति समर्पित गर्दै दिवस मनाइएको विद्यालय प्रशासनले जनाएको छ।
लिटिल रोज मन्टेश्वरी स्कुलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन बस्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन अपेनका केन्द्रीय अध्यक्ष बद्री प्रसाद दाहाल प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा अतिथिका रूपमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका आमन्त्रित प्रधानाध्यापकहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहित विद्यालयका शुभचिन्तकहरू रहँदा विद्यालयका शिक्षक/ शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको व्यापक उपस्थिति कार्यक्रममा रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै लिटिल रोजकी प्रधानाध्यापक रेणुका कोइरालाले विद्यालय प्रशासनको गुणस्तरीय शिक्षा प्रदान गर्ने संकल्पमा अभिभावकहरूको साथ सहयोग मिल्दा विद्यालय आजको अवस्थामा आइपुगेको बताइन्। विद्यालयले किताबी ज्ञान मात्रै दिने भन्दा पनि आफ्ना विद्यार्थीको सर्वपक्षीय विकासका लागि काम गरिरहेको उनको भनाई थियो। उनले बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि अभिभावकको निरन्तर सहयोगको अपेक्षा रहेको बताइन्।

उत्कृष्ट स्वागत नृत्य र स्वागत गीत बाट सुरु भएको कार्यक्रममा विभिन्न धर्म, संस्कृति तथा सम्प्रदायको प्रतिनिधित्व गर्दै विद्यार्थीहरू मञ्चमा प्रस्तुत भएका थिए । कार्यक्रम अवधिभर प्रस्तुत गरिएका विभिन्न प्रतिभाहरू सहितको प्रस्तुति मार्फत लिटिल रोजले आफूले दिँदै आएको शिक्षाको प्रतिबिम्ब प्रस्तुत गरेको थियो । स- साना बालबालिकाको निर्दोष आवाजमा गायन, नृत्य, कविता, दोहोरी गायन, वक्तृत्वकला आदि प्रस्तुत भइरहँदा विद्यालयका अभिभावकहरू उत्साहित देखिन्थे।
कार्यक्रममा अभिभावकहरूका तर्फबाट भनाई राख्दै शिव श्रेष्ठले आफू विगत केही वर्ष अघि देखि निरन्तर विद्यालय सँग नजिक रहेको र शिक्षण सँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको हुँदा विद्यालय उत्कृष्ट पाएको धारणा राखे। उनले उत्कृष्ट प्रस्तुतिका लागि विद्यार्थीहरूलाई धन्यवाद दिँदै थप प्रगतिको कामना गरे। विद्यार्थीको शिक्षण सिकाई अब्बल हुनका लागि अभिभावक पनि उत्तिकै जिम्मेवार बन्न आवश्यक रहेको बताएका उनले लिटिल रोज जस्तो पूर्ण विद्यालयको अभिभावक हुनु सौभाग्यको विषय भएको बताए।
आफ्ना हरेक कार्यक्रमहरूमा सिर्जनात्मकता र रचनात्मक क्षमता प्रदर्शन गर्दै आएको लिटिल रोजले शनिवार पनि त्यसको उत्कृष्ट प्रदर्शन गरेको थियो। विद्यार्थीहरूले तयार पारेका विभिन्न अर्थपूर्ण प्रयोगात्मक परियोजनाहरू देखि अन्य प्रस्तुतिहरूले बोकेको समसामयिक भावले मञ्चमा त्यसको प्रतिनिधित्व गरेको थियो। पछिल्लो पुस्ताले चासो नदिएको र नेपाली समाजले बुझ्न नसकेको धेरै विषयवस्तुहरूलाई प्रस्तुतिका रूपमा देखाएर विद्यालयले उपस्थित सबै दर्शकको मन जित्न सफल भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि दाहालले आमन्त्रणका लागि धन्यवाद दिँदै विद्यालयले उत्कृष्ट रूपमा आफूलाई प्रस्तुत गर्दै आएको उल्लेख गरे । स- साना बालबालिकाले दिएको प्रस्तुति आफ्नो अपेक्षा भन्दा निकै माथिल्लो स्तरको भएको भन्दै लिटिल रोजले सानै देखि बालबालिकालाई व्यवहारिक र सिपमूलक शिक्षा दिँदैछ भन्ने कुराको प्रमाण प्रस्तुतिहरूले दिएको उनले उल्लेख गरे। अपेन बालबालिकाहरूको स्तरीय शिक्षा सँगै बाल विकासको पैरवी गर्ने संस्था भएको भन्दै उनले बालबालिकाको सर्वपक्षीय विकासका लागि सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए। दाहालले विद्यालयको अझै धेरै प्रगति होस् भन्ने शुभकामना दिए।

कार्यक्रममा बोल्ने अन्य सबै वक्ताहरूले लिटिल रोजले दिँदै आएको गुणस्तरीय र व्यवहारिक शिक्षाको चर्चा गरेका थिए। कार्यक्रममा विभिन्न शैक्षिक गतिविधिहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो।
कार्यक्रम समापन गर्दै सभापति बस्यालले उपस्थित अतिथिलाई धन्यवाद दिए । उनले सबैको साथ, सहयोगका कारण विद्यालय आफ्नो क्षेत्रमा स्थापित हुन सफल भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने आफूहरूको बाचा जस्तोसुकै परिस्थितिमा पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमकै अवसर पारेर विद्यालयले कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरूलाई दीक्षित गरेको थियो भने वर्षभरी सञ्चालित विभिन्न क्रियाकलापका विजेता विद्यार्थीहरूलाई पुरस्कृत समेत गरेको थियो।
