काठमाडौँ- रिलायन्स इन्टरनेशनल एकेडेमी, चाबहिलले रिलायन्स विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव २०२५ आयोजना गर्ने भएको छ। आयोजकले विद्यालय परिसरमा आयोजित एक पत्रकार सम्मेलनका बिच फागुन १ देखि ३ गते सम्म प्रदर्शनी सञ्चालन हुने र विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा साहित्यका विविध गतिविधिहरू समेटिने जानकारी दिएको हो।
प्रदर्शनीमार्फत करिब ५००० विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। ४९ स्टलहरू रहने यस प्रदर्शनीमा विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नवीनतम खोज, अनुसन्धान तथा प्रविधिहरू प्रस्तुत गरिनेछन्। साथै ‘आर्ट पेन्टिङ’, ‘फेस पेन्टिङ’, ‘फुड स्टल’, ‘बुक स्टल’ जस्ता अतिरिक्त गतिविधिहरू पनि रहनेछन्।
कार्यक्रमका प्रमुख आकर्षणमा कस्तूरी मृगको संरक्षण, तितलीहरूको संसार (फोटो ग्यालरी), स्मार्ट सिटीको थ्रिडी मोडल, ज्वालामुखी विस्फोटको प्रस्तुति, स्मार्ट सिँचाइ प्रणाली लगायतका विषय समावेश छन्। साथै, उपन्यासकार अमर न्यौपाने र उद्धव प्याकुरेलसँग विशेष अन्तरक्रिया गरिनेछ भने रिलायन्स गायन आइडल पाँचौँ सिजनको ग्राण्ड फिनाले समेत आयोजना गरिनेछ।
फागुन १ गते बिहान १०:३० बजे उद्घाटन समारोह हुनेछ जसका प्रमुख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सदस्य सचिव डा. रवीन्द्रप्रसाद ढकाल रहनेछन्। समापन समारोह फागुन ३ गते दिउँसो १:३० बजे हुनेछ जसमा अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख डा. लोकबहादुर बराल प्रमुख अतिथि रहनेछन्।
नेपालका प्रतिष्ठित वैज्ञानिक, साहित्यकार, शिक्षाविद् तथा विद्यार्थीहरूको उपस्थितिमा प्रदर्शनी भव्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।