काठमाडौँ-नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौँ महानगर समितिको तेस्रो अधिवेशन शनिवार युनिग्लोब कलेज, कमलादीमा सम्पन्न भएको छ। अधिवेशनले शिक्षकहरूको हकहित, गुणस्तरीय शिक्षा प्रवर्द्धन र विद्यालय शिक्षा सुधारका विषयमा विभिन्न छलफलहरू गरेको थियो।
अधिवेशनले गणेश प्रसाद गुरागाईँको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ। समितिको उपाध्यक्षमा शान्ता मरासिनी र प्रदीप कुमार घिमिरे चयन भएका छन् भने सचिवको जिम्मेवारी बाबुराम शर्माले पाएका छन्। कोषाध्यक्ष मिना कँडेल, सहसचिव शारदा केसी, सहकोषाध्यक्ष देवकी देवी न्यौपाने चयन भएका छन्। समितिको सदस्यमा सुमित रञ्जित, मोहन प्रसाद दाहाल, तुलसा गुरागाईँ, सुभद्रा बनाई, मधु लामा, अनिल पौड्याल, धिरज सापकोटा, नारायण प्रसाद भट्ट, सनिता सिवाकोटी, शिवकुमार तिम्सिना र प्रेमकृष्ण पाठक चयन भएका छन्।
कार्यक्रमको अवसरमा काठमाडौँ महानगरभित्रका १५ उत्कृष्ट विद्यालयलाई सम्मान गरिएको थियो। यी विद्यालयहरूले शैक्षिक सुधार, नवीनतम शिक्षण विधिहरू, र विद्यार्थी केन्द्रित शिक्षामा विशेष योगदान पुर्याएको भन्दै प्रशंसा गरियो। साथै विद्यालयका उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई पनि सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा काठमाडौँ महानगर शिक्षा तथा स्वास्थ्य समिति संयोजक चिनीकाजी महर्जन, जिफन्टका महासचिव लक्ष्मण शर्मा लगायतका विशिष्ट व्यक्तित्वहरूले आफ्ना विचार राखेका थिए। उनीहरूले शिक्षाको गुणस्तर सुधार, शिक्षकहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने उपाय, र विद्यालय व्यवस्थापनका विविध पक्षहरूबारे प्रकाश पारे। अधिवेशनले शिक्षक संगठनको भूमिकालाई अझ सशक्त बनाउने तथा शिक्षामा नीतिगत सुधारको माग गर्ने निष्कर्ष निकालेको छ।