Matra Education आइतबार, साउन १० २०८३

टेक्सास स्कुलको अभिभावक दिवस भव्यताका साथ सम्पन्न

टेक्सास स्कुलको अभिभावक दिवस भव्यताका साथ सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, माघ २६ २०८१


काठमाडौँ- चाबहिल स्थित टेक्सास इन्टरनेसनल सेकेण्डरी स्कुलको अभिभावक दिवस सम्पन्न भएको छ। शनिवार राष्ट्रिय नाच घर जमलको हलमा आयोजित एक भव्य कार्यक्रमका बिच विद्यालयले शिक्षण सिकाइमा महत्त्वपूर्ण भूमिका खेल्ने अभिभावकको सम्मानमा दिवस सम्पन्न गरेको हो।

टेक्सास एजुकेसन नेटवर्कका अध्यक्ष भेष राज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता तथा दर्शनशास्त्री डा चिन्तामणि योगी प्रमुख अतिथिका रूपमा रहेका थिए। त्यस्तै विशेष अतिथिका रूपमा जीवनशैली विज्ञ तथा विश्व प्रेरणा शिक्षक बिके रमण भट्टराई उपस्थित रहेको कार्यक्रममा टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्क बाट प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठको समुपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहँदा टेक्सास स्कुलका अभिभावक तथा विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै टेक्सासका स्कुल संयोजक लेखराज घिमिरेले टेक्सास आफ्नो क्षेत्रमा आज सर्वाधिक लोकप्रिय रहेको उल्लेख गरे । अभिभावक दिवस बालबालिकाहरूले वर्ष भरी अध्ययन बाहेक विद्यालयमा सिकेका कुराहरू देखाउने अवसर भएको भन्दै उनले शिक्षण सिकाई अभिभावक, विद्यालय तथा विद्यार्थीहरूको त्रिपक्षीय संयोजन बाट मात्रै सम्भव हुने उल्लेख गरे। घिमिरेले २१ औ शताब्दीको प्रतिस्पर्धात्मक विश्वमा अब्बल साबित हुनसक्ने जनशक्ति टेक्सासले उत्पादन गर्ने भनाई राखे।

संस्कारयुक्त शिक्षामा जोड दिँदै आएको टेक्सासले आफ्नो कार्यक्रमको सुरुवात स्वस्ति वाचन, गणेश वन्दना तथा सरस्वती वन्दना बाट गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै टेक्सास एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले अभिभावक दिवस विद्यालयका लागि आफ्ना अभिभावकहरू सँग बस्ने, छलफल गर्ने, सल्लाह सुझाव लिने र आगामी वर्षका लागि महत्त्वपूर्ण योजना बनाउने अवसर भएको उल्लेख गरे। उनले विद्यार्थीलाई सफल सँगै असल बनाउने र टेक्सासको नारा जस्तै उनीहरूलाई पूर्ण मानव बनाउने प्रयासमा कार्यक्रमले थप पृष्ठपोषण प्रदान गर्ने बताए। संस्थाले हरेक वर्ष अग्रगामी कदम लिँदै आएको भन्दै उनले विगतका वर्षहरूभन्दा यो वर्ष राम्रा सेवा सुविधा र प्रगतिशील शैक्षिक पद्धति लिन विद्यालय सफल भएको उल्लेख गरे। विगतका वर्षहरूमा जस्तै अभिभावकहरूको निरन्तरको साथ सहयोगले टेक्सास अझै धेरै सफल हुने विश्वास उनले व्यक्त गरे। उनले कार्यक्रम सफल बनाउन अथक मेहनत गर्ने शिक्षक शिक्षिका सहित सबैलाई धन्यवाद दिए।

टेक्सासका प्रबन्ध निर्देशक बाखुले संस्थालाई अभिभावकले गरेको विश्वासका निम्ति आभार प्रकट गरे। त्यही विश्वास र विद्यार्थीको ऊर्जाका कारण उत्कृष्ट प्रस्तुतिहरू मञ्चमा देखाउन विद्यालय सफल भएको उनको भनाई थियो। आगामी वर्षको साउन महिना देखि ६ रोपनी क्षेत्रफलको जग्गामा अत्याधुनिक भवन बनाएर विद्यालय सार्न लागिएको जानकारी गराएका उनले त्यहाँ बाट पढाइ सँगै जीवन बाँच्न चाहिने अत्यावश्यक सिप विद्यार्थीलाई प्रदान गरिने उनले बताए। उक्त भवन आधुनिक कक्षाकोठामा चाहिने सबै विशेषता युक्त हुने र ३ वटा सभाहल सहितको हुने उनले सुनाए। विद्यार्थीलाई दैनिक जीवनमा आइपर्ने समस्या समाधानका लागि आधारभूत सिप विद्यालयमै दिनका लागि त्यस किसिमका विभिन्न ल्याबहरू निर्माण गर्ने योजनामा विद्यालय रहेको उनले उल्लेख गरे। अभिभावकको निरन्तरको साथ रहिरहे विद्यालय अझै उत्कृष्ट बन्दै जाने उनको भनाई थियो।

कार्यक्रमलाई शुभकामना दिन पुगेका टेक्सास एजुकेसन नेटवर्क अन्तर्गतका अन्य विभिन्न वक्ताहरूले विद्यालयले गुणस्तरीय शिक्षा दिनका लागि खेलिरहेको भूमिकाको चर्चा गर्दै आगामी दिनका लागि थप प्रगतिको शुभकामना दिए।

कार्यक्रमका विशेष अतिथि भट्टराईले अभिभावकले गर्नुपर्ने कामहरू बारे चर्चा गर्दै टेक्सासले आफ्ना विद्यार्थीका विकासका लागि गरिरहेको कामहरूको प्रशंसा गरे। पछिल्लो समय अभिभावकहरूकै कारण विद्यार्थीहरूमा मोबाइलको लत बस्दै गएको भन्दै उनले प्रविधिलाई सदुपयोग मात्रै गर्न र बालबालिकालाई यसको गलत प्रयोग बाट बचाउन सुझाए। कार्यक्रममा उपस्थित सबैलाई आफ्नै अन्तरात्मालाई केही महत्त्वपूर्ण प्रश्नहरू सोध्न लगाएका उनले मानव जीवन सफल बनाउने केही महत्त्वपूर्ण टिप्सहरू समेत दिए।

कार्यक्रमको मुख्य आकर्षण बनेका प्रमुख अतिथि डा योगीले विद्यार्थीहरू माझ आफ्नो विश्वका विभिन्न देश भ्रमणको अनुभव सुनाउँदै मानव भएर हामीले गर्नुपर्ने कामहरू बारे महत्त्वपूर्ण सुझावहरू दिए । कुनै पनि वस्तु नझुकेमा त्यो भाँचिनुपर्ने भन्दै उनले नम्र र भद्र बन्न सुझाए । आफू संसारका धेरै सहर र प्रतिष्ठित शैक्षिक संस्थाहरूमा वक्ता बनेर पुग्ने गरेको भन्दै उनले टेक्सास नेपालका उत्कृष्ट शैक्षिक संस्थाहरू मध्य एक भएको र आफूलाई मन पर्ने भएका कारण उपस्थित भएको बताए । आजको मानिसको बाहिर उज्यालो देखिए पनि अहङ्कार र कुण्ठाले भित्र अँध्यारो बाँकी रहने हुँदा आत्मिक रूपमा पहिले उज्यालो हुन उनले सुझाए। आमा, बुबा र आचार्यलाई सम्मान गर्ने अनि आफ्नो संस्कृति बुझ्ने मानिस नै सफल हुने भन्दै उनले त्यस प्रति ध्यान दिन विद्यार्थीलाई अनुरोध गरे । मन्तव्य अवधिभर निरन्तर तालीको समर्थन पाएका योगीले कार्यक्रममा विशेष उत्साह भरेका थिए।

औपचारिक सत्र समापन गर्दै कार्यक्रमका सभापति पोखरेलले शैक्षिक क्षेत्रमा टेक्सासले जे गरिरहेको छ त्यो मूल्याङ्कन गर्ने दिन अभिभावक दिवस भएको उल्लेख गरे। उनले शिक्षण संस्थाको उद्देश्य परिपूर्तिका लागि अभिभावक, विद्यालय र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध सुमधुर हुनुपर्ने धारणा राख्दै अभिभावकको सल्लाह, सुझाव र पृष्ठपोषणकै कारण विद्यार्थीको भविष्य सफल बनाउन सकिने बताए। उनले शिक्षण संस्थाको एकल प्रयासले मात्रै शिक्षाको लक्ष्य पुरा हुन नसक्ने भन्दै अभिभावकका कुरा सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने योजना बनाउने अवसर पनि कार्यक्रमले प्रदान गरेको बताए। कुनै पनि मानिस सफल हुनका लागि संस्कृति, संस्कार र सिपको ज्ञान महत्त्वपूर्ण हुन्छ भन्ने बुझेर त्यसलाई मनन गर्न उपस्थित अभिभावकलाई आग्रह गर्दै उनले औपचारिक कार्यक्रमको अन्त्य गरे।

टेक्सास स्कुलका स्कुल इन्चार्ज राजु पौडेलले औपचारिक सत्रको कार्यक्रम सञ्चालन गरेका थिए भने अनौपचारिक सत्रका विभिन्न प्रस्तुतिहरूको उद्घोषण विद्यालयका बालबालिकाहरूले गरेका थिए। त्यस्तै अनौपचारिक सत्रमा टेक्सासका विद्यार्थीको प्रतिभाले भरपुर गायन, नृत्य, कविता वाचन, योगा, तेक्वान्दो, नाटक आदि प्रस्तुत गरिएको थियो। प्रस्तुतिहरू मनोरञ्जनात्मक मात्रै नभई समसामयिक समाजको प्रतिनिधित्व गर्ने र अर्थपूर्ण सन्देश दिने खालका थिए। आफ्ना छोराछोरीको सुन्दर प्रस्तुतिहरू हेरेर विद्यालयका अभिभावकहरू प्रफुल्लित देखिन्थे।

कार्यक्रममा विद्यालयले शिक्षक शिक्षिकाले खेलेको भूमिकाको कदर गर्दै उनीहरूलाई सम्मान गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड