Matra Education आइतबार, साउन १० २०८३

सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पोको सातौँ संस्करणमा उत्साहजनक सहभागिता

सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पोको सातौँ संस्करणमा उत्साहजनक सहभागिता

  • मात्र एजुकेशन
  • बिहिबार, माघ २४ २०८१


काठमाडौँ- चाबहिल स्थित सेन्ट लरेन्स कलेजको आयोजनामा २ दिने ‘सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो’ सुरु भएको छ। बिहीबार विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गरिएको हो। विज्ञान तथा आइटिले अबको विश्वमा नयाँ नयाँ अवसरहरूको सिर्जना गर्ने हुँदा यी क्षेत्र प्रति विद्यार्थीहरूको रुचि जगाई त्यसमा भविष्य खोज्न उनीहरूलाई प्रोत्साहन गर्नका लागी कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ।

सेन्ट लरेन्स स्कुल/कलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्व तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सदस्य सचिव डा रविन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। सेन्ट लरेन्सका क्याम्पस प्रमुख पुरुषोत्तम महर्जन, प्रधानाध्यापक तारा प्रसाद सुवेदी, एकेडेमिक इन्चार्ज नवराज भण्डारी, कोअर्डिनेटर तेज तिमिल्सिना तथा श्याम कोइराला लगायत समेतको उपस्थितिमा उद्घाटन सत्र सम्पन्न भएको हो। त्यस्तै आमन्त्रित विद्यालयका प्रधानाध्यापकहरू र अन्य विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा कार्यक्रममा रहेका थिए। कार्यक्रममा विभिन्न १७ वटा सहभागी विद्यालयका प्रतिस्पर्धी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै सेन्ट लरेन्सका प्रधानाध्यापक तारा प्रसाद सुवेदीले उपस्थितिका लागि सबैलाई धन्यवाद दिए। उनले यस्तो उत्साहजनक उपस्थितिले सहभागी विद्यार्थीलाई प्रोत्साहन हुने भन्दै आइटी तथा विज्ञानको क्षेत्रमा केही योगदान गर्ने सेन्ट लरेन्सको अभियानको हिस्सा बनेकोमा आभार प्रकट गरे। कार्यक्रम सुरु हुनु अघि नै स्टलहरूको अवलोकन गर्दा निकै उत्कृष्ट सामग्रीहरू विद्यार्थीले तयार पारेको आफूले पाएको उनले उल्लेख गरे। प्रतियोगितात्मक कार्यक्रम भएको भए पनि जित्नु जतिकै महत्त्वपूर्ण भाग लिनु भएको भन्दै सुवेदीले सबैलाई सफलताको शुभकामना दिए।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि डा ढकालले सुन्दर कार्यक्रममा सहभागी हुन पाउँदा गौरवको महसुस भएको उल्लेख गरे। उनले नास्टको काम भनेकै विद्यार्थीहरूका माझ विज्ञान सम्बन्धी काम गर्ने र अनुसन्धान गर्नेहरूलाई सघाउने भएको बताउँदै सहभागी विद्यार्थीहरूको विज्ञान प्रतिको लगाव देखेर आफू मोहित भएको बताए। उनले नास्टले आफै अनुसन्धान गर्ने, अनुसन्धान गर्नेहरूलाई सहयोग गर्ने, समुदायलाई आवश्यक विज्ञान दिने र विज्ञान सम्बन्धी समाजमा रहेका भ्रम चिर्ने काम गर्दै आएको भनाई राखे। अनुसन्धानका लागि विदेश नै जानुपर्छ भन्ने धारणा चिर्न नास्ट लागिपरेको भन्दै उनले स्याटलाइट बनाउन नासा जाने नभई नेपालमै त्यो काम गर्न सक्ने वातावरण बनाउनुपर्ने उल्लेख गरे। युवा तथा विद्यार्थीहरू सँग भएका आइडियालाई उत्पादन बनाउन सक्नुपर्ने धारणा राखेका उनले अन्वेषण गर्नेहरूलाई नेपाल सरकारले सहयोग गर्ने गरेको बताए। आजका युवाहरू हीनताबोध फालेर अघि बढ्नुपर्ने र त्यसो गर्न सके सफल हुने भन्दै उनले विद्यार्थीहरूको नयाँ आइडियालाई आविष्कार बनाउन नास्टले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उद्घाटन कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति दंगालले अन्वेषणका क्षेत्रमा काम गर्न चाहनेलाई सहयोग पुर्‍याउन सेन्ट लरेन्सले यस किसिमको कार्यक्रम आयोजना गर्दै आएको र सातौँ संस्करण सम्म आइपुगेको बताए। दुई दिन चल्ने एक्स्पोमा संस्थाले अपेक्षा गरेको भन्दा अझ बढी उत्साह र सहभागिता देखिएको उनको भनाई थियो। विद्यालय तह अध्ययन गर्दै गरेका विद्यार्थीले बनाएको भए पनि सुन्दर प्रतिभा र सिर्जनाहरू प्रदर्शनीमा देखिएको भन्दै उनले विद्यार्थीलाई सहयोग गर्ने हरेक विद्यालयका विज्ञान शिक्षक र प्रोत्साहन गर्ने विद्यालय धन्यवादको पात्र भएको बताए। दंगालले नास्ट सँगको सहकार्यमा नेपाल सरकारले विद्यालय तहमै अन्वेषणलाई सघाउने काम गर्दै आएको उल्लेख गर्दै यस्ता प्रतिभालाई प्रोत्साहन गर्ने हो भने देश विकासको बाटोमा जान सक्ने भनाइ राखे। विज्ञान र सूचना प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गरेर अनुसन्धान गर्न सके काम खोज्न बिदेसिनु पर्ने बाध्यताको अन्त्य हुने र देश समृद्ध बन्न सक्ने दंगालको भनाई थियो।

१७ वटा विद्यालयको फरक फरक परियोजनाहरू सहितको स्टल राखिएको ‘सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो’ को समापन भोलि शुक्रवार गर्ने आयोजकको तयारी छ। प्रतिस्पर्धी विद्यालयहरू मध्यबाट प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ भने परियोजनाका अवलोकनकर्ताहरूको मतका आधारमा एउटा परियोजनाले ‘भिजिटर्स च्वाइस अवार्ड’ प्राप्त गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड