काठमाडौँ- चाबहिल स्थित टेक्सास इन्टरनेसनल कलेजको आयोजनामा ‘टेक्सास साइन्स एन्ड आइटी एक्स्पो’ सुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त प्रदर्शनीको बुधवार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
कलेजका अध्यक्ष भेषराज पोखरेलको सभापतित्व तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा एक्सपोको उद्घाटन गरिएको हो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सचिव डा रविन्द्र ढकाल, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सल्लाहकार तथा आइटी विज्ञ डा शालिकराम पराजुली, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल सहित विशिष्ट अतिथिहरूको उपस्थिति रहेको कार्यक्रममा क्यान महांसघका उपाध्यक्ष चिरञ्जीवी अधिकारी, टेक्सासका संरक्षक प्रा डा केशव कुमार श्रेष्ठ, एकेडेमिक प्रमुख प्रा डा गोविन्द प्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ, अनुसन्धान विभाग प्रमुख प्रा डा सतिस कुमार ओझा लगायत अतिथिका रूपमा रहेका थिए। उद्घाटन समारोहमा टेक्सास परिवारका अलावा विभिन्न आमन्त्रित विद्यालय बाट शिक्षक विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
एआई जडित रोबर्टलाई स्वागत शब्द बोल्न लगाएर, प्रमुख अतिथिलाई पुष्प गुच्छा दिन लगाएर र नेपाली राष्ट्रिय गीत तथा आधुनिक गीतमा नृत्य गर्न लगाएर कार्यक्रमको उत्कृष्ट सुरुवात टेक्सासले गरेको थियो। कार्यक्रममा विज्ञान, सूचना प्रविधि तथा रोबोटिक्स सम्बन्धी १०० भन्दा धेरै स्टलहरू राखिएका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै टेक्सासका प्रधानाध्यापक श्रेष्ठले विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा रुचि राख्ने र केही गर्न चाहने विद्यार्थीहरूलाई प्रोत्साहित गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए। टेक्सास प्रयोगात्मक शिक्षामा विश्वास गर्छ भन्ने एउटा उदाहरण कार्यक्रम भएको उल्लेख गरेका उनले प्रदर्शनीमा राखिएका स्टलहरूले कलेजले दिने शिक्षाको प्रतिनिधित्व गरेको बताए। उनले टेक्सास परिवारको तर्फबाट उपस्थित सबैलाई स्वागत गरे।
कार्यक्रमका विशेष अतिथिहरूले आफूले प्रतिनिधित्व गरेको संस्थाको तर्फबाट शुभकामना दिँदै यस किसिमको कार्यक्रम स्कुल कलेज तहमा हुनु खुसीको विषय भएको बताए। साथै उनीहरूले आ-आफ्नो क्षेत्र बाट सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले सुन्दर कार्यक्रममा आमन्त्रण गरेको भन्दै आभार प्रकट गरे। रोबर्ट र एआईको संयोजन बाट सुरुवात गरिएको कार्यक्रम निकै अर्थपूर्ण लागेको भन्दै उनले सबै प्रतिभाहरू रोबर्ट जत्तिकै विशेष छन् भन्ने आभास भएको धारणा राखे। एक्स्पो बाट अधिकतम विद्यार्थीले सिक्न र लाभ लिन सकुन् भन्ने कामना उनले गरे।
कार्यक्रमका सभापति पोखरेलले प्रदर्शनी सफल बनाउन अहोरात्र खट्ने सबैलाई धन्यवाद दिए । आजका विद्यार्थी सफल हुनका लागि विज्ञान तथा आइटीमा जानकार हुनुपर्ने भन्दै उनले त्यसैले व्यक्तिको सफलताको बाटो तय गर्ने उल्लेख गरे । कलेजले डिग्री सँगै सिप प्रदान गर्ने गरेको र त्यसको प्रतिबिम्ब प्रदर्शनीमा देखिने उल्लेख गरे।
उद्घाटन सत्रलाई टेक्सास कलेजका कोअर्डिनेटर अग्नि लुइँटेलले कुशलतापूर्वक सञ्चालन गरेका थिए।
प्रदर्शनी पर्सि शुक्रबार सम्म चल्नेछ।
