Matra Education आइतबार, साउन १० २०८३

त्रि-ज्योति माविको ३१औँ वार्षिकोत्सव तथा विद्यार्थी प्रतिभा प्रदर्शनी कार्यक्रम सम्पन्न

त्रि-ज्योति माविको ३१औँ वार्षिकोत्सव तथा विद्यार्थी प्रतिभा प्रदर्शनी कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • मंगलबार, माघ २२ २०८१


काठमाडौँ- बुढानीलकण्ठ-१२ कपनमा रहेको त्रि-ज्योति मा.वि.ले आफ्नो ३१औँ वार्षिकोत्सव तथा विद्यार्थी प्रतिभा प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। श्रीपञ्चमीको अवसर पारेर विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बिच विद्यालयले वार्षिकोत्सव, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो।

त्रि-ज्योति मा.वि.का सञ्चालक समिति अध्यक्ष केशवप्रसाद दंगालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा वडा अध्यक्षहरू शम्भुप्रसाद भट्टराई, नवराज भट्टराई, कार्यपालिका सदस्य शान्ता पुडासैनी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

त्रि – ज्योति मा .वि.का प्राचार्य गणेशकुमार मिश्रको स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रममा विद्यार्थीहरूले गीत ,संगीत ,नृत्य ,योग ,मन्तव्य ,प्रहसन लगायतका मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा सरस्वती पूजाको अवसर पारेर अक्षरारम्भ कार्यक्रम समेत आयोजना गरिएको थियो।

सो अवसरमा विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत प्रदान गरिएको थियो। कार्यक्रममा त्रि-ज्योति कला साहित्य सम्मान बालसाहित्यकार गङ्गा कर्माचार्य पौडेललाई, त्रि-ज्योति जनसेवा सम्मान पुन्यराज पुडासैनीलाई, त्रि-ज्योति प्रतिभाशाली पूर्व विद्यार्थी सम्मान डा. मनोजकुमार शाहलाई, त्रि-ज्योति ज्येष्ठ अभिभावक सम्मान हरिकला आचार्यलाई, त्रि-ज्योति समर्पण सेवा सम्मान पासाङ तेम्बा शेर्पालाई प्रदान गरिएको थियो। त्यसै गरी विद्यालयको शैक्षिक तथा प्रशासनिक क्षेत्रमा उल्लेखनीय योगदान दिने शिक्षक तथा कर्मचारीहरूलाई सम्मान पत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमका वक्ताहरूले त्रि-ज्योति मा.वि.ले गुणस्तरीय शिक्षा प्रदान गर्न खेलेको भूमिकाको चर्चा गर्दै विद्यालयको निरन्तर प्रगतिका लागि शुभकामना दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति दंगालले स्नेह ,ज्ञान र नेतृत्वका माध्यमबाट बालबालिकाको सर्वपक्षीय हितमा त्रि – ज्योतिले काम गरिरहेको धारणा राखे ।खेलकुद ,मनोरञ्जन ,तालिम ,सिप सिकाइ र क्षमताको विकास गर्नमा आवश्यक जमिन चाहिएकोले सो को प्रबन्ध समेत गरेर शैक्षिक गुणस्तर कायम गर्दै दक्ष नागरिक निर्माणमा इमानदारिताका साथमा त्रि – ज्योतिले काम गरेको कारण सबै अभिभावकहरूको सधैँ साथ मिलेको विचार उनले राखे ।भाग्यशाली अभिभावक छनौट गरेर उक्त कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड