काठमाडौँ- मन्टेश्वरी तथा प्रि-स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) ले प्रथम ‘अपेन किण्डर ओलम्पिक २०८१’ आयोजना गर्ने भएको छ। यो ऐतिहासिक खेलकुद कार्यक्रम यही माघ १९ गते शनिवार आर्मी शारीरिक प्रशिक्षण केन्द्र लगनखेल ललितपुरमा सम्पन्न हुनेछ।
उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकामा रहेका अपेनमा आबद्ध ४४ वटा प्रि-स्कुलका ३ देखि ८ वर्ष उमेर समूहका १६०० बालबालिकाहरूले विभिन्न खेल विधामा सहभागिता जनाउनेछन्। यो ओलम्पिक प्रतिस्पर्धाका माध्यमबाट बालबालिकाहरूको शारीरिक सक्षमता, आत्मविश्वास अभिवृद्धि, समूहमा काम गर्ने क्षमता तथा खेल भावना विकास गर्ने लक्ष्य राखिएको छ।
अपेन किण्डर ओलम्पिक २०८१ का संयोजक पविन थापाका अनुसार सहभागी विद्यालयहरूले एसियाका विभिन्न देशहरूको प्रतिनिधित्व गर्दै ओलम्पिक शैलीमा प्रतिस्पर्धा गर्नेछन्। खेलकुदमा बालबालिकाहरूलाई प्रारम्भिक उमेरदेखि नै सक्रिय रूपमा संलग्न गराई उनीहरूको समग्र शारीरिक, मानसिक र सामाजिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
यस ऐतिहासिक ओलम्पिक प्रतियोगिता विद्यालय स्तरमै आयोजना गरिने बाल खेलकुद गतिविधिहरूलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण प्रयास भएको आयोजकले जनाएको छ। प्रतियोगितामा अभिभावक, शिक्षक तथा खेल प्रशिक्षकहरूको समेत व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।