काठमाडौँ- नेपालकै प्रतिष्ठित शैक्षिक संस्था रिलायन्स एजुकेसन नेटवर्कले एक भव्य समारोहका बिच ‘रिलायन्स एजुकेसन नेटवर्क पुस्तक समीक्षा स्वर्ण उत्सव’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
गत माघ १६ गते शहीद दिवसको अवसर पारेर रिलायन्स कलेज, चाबहिल सरस्वतीनगर स्थित सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो। रिलायन्स एजुकेसन नेटवर्क पुस्तक समीक्षा समितिद्वारा आयोजित उक्त कार्यक्रम संस्थाका कार्यकारी अध्यक्ष तथा कलेजका प्राचार्य रविन्द्र जङ्ग थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सिकाइ समूह नेपालका अध्यक्ष सुदर्शन घिमिरे प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा सिनियर चार्टर्ड एकाउन्टेन्ट राजुकुमार शिवकोटी विशेष अतिथि रहेका थिए।
कार्यक्रममा रिलायन्स कोएड स्कुलका प्रधानाध्यापक दशरथ ज्ञवाली र प्रि-प्राइमरी संयोजक सुमन केसीले ‘ह्वाई नेसन्स फेल’ पुस्तकमा क्रमशः समीक्षा र टिप्पणी प्रस्तुत गरेका थिए। यस अवसरमा हालसम्म पुस्तक समीक्षा कार्यक्रममा योगदान दिएका ८० जना शिक्षक तथा कर्मचारीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।
प्रमुख अतिथि घिमिरेले रिलायन्स एजुकेसन नेटवर्कको पठन संस्कृति अभियान र गतिविधिहरू नेपालकै संस्थागत शिक्षाको उत्कृष्ट नमुना भएको उल्लेख गरे। कार्यक्रमका अध्यक्ष प्राचार्य रविन्द्रजङ्ग थापाले शिक्षक तथा कर्मचारीहरूमा पठन संस्कृतिको निरन्तरता कायम गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए। विशेष अतिथि राजुकुमार शिवकोटीले शिक्षक तथा कर्मचारीहरूले अध्ययन गर्ने बानी बसाल्न आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रमको सुरुआतमा ज्ञात-अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुई मिनेट मौन धारण गरिएको थियो। रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा संस्कृति विभाग प्रमुख दामोदर निरौलाले माघ महिनाको ‘धीरता’ विषयमा प्रकाश पारेका थिए। औपचारिक स्वागत मन्तव्य पुस्तक समीक्षा समितिका सदस्य सचिव वेदनिधि खनालले दिएका थिए भने सिनियर फ्याकल्टी गणेश खनियाले पुस्तक समीक्षाको ढाँचाबारे विशेष प्रस्तुति राखेका थिए।
कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा कलेज सहायक प्राचार्य नन्दप्रसाद कुशवाह, विभिन्न संयोजकहरू, शिक्षक-शिक्षिका, कर्मचारी, अभिभावक तथा विद्यार्थी क्लबका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पुस्तक समीक्षा समितिका संयोजक गोविन्द ढकालको सशक्त सञ्चालनमा सम्पन्न कार्यक्रममा कोभिड महामारीपछि पहिलो पटक भौतिक रूपमा पुस्तक समीक्षा स्वर्ण उत्सव मनाइएको थियो। विगत पाँच वर्षदेखि यो कार्यक्रम जुम अनलाइनमार्फत पाक्षिक रूपमा शनिवार बिहान ८:०० बजे सञ्चालन हुँदै आएको छ। यस पटक भने रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गतका चार विद्यालय र दुई कलेजका २२१ जना शिक्षक-कर्मचारीहरूको प्रत्यक्ष सहभागिता रहेको संयोजक ढकालले जानकारी दिए।