काठमाडौँ- टोखा-३ स्थित शान्तिबाटिका चोकमा रहेको एक्टिभ किड्स गार्डेनले ‘ग्राण्डप्यारेन्स डे’ सम्पन्न गरेको छ। शनिवार विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रमका बिच बालबालिकाको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्ने हजुरबुबा/हजुरआमाहरूको सम्मानमा दिवस मनाइएको हो। साना बालबालिकाहरूले आफ्ना बुबा आमाका अभिभावक प्रति सम्मान सहित उनीहरू प्रति समर्पित गरेको फरक र उत्कृष्ट किसिमका प्रस्तुतिहरू प्रदर्शन गर्दै कार्यक्रम सम्पन्न भएको हो।
एक्टिभ किड्स गार्डेन व्यवस्थापन समिति सदस्य ज्ञानु कार्की खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बालविकास विज्ञ सानु अमात्य प्रमुख अतिथिको रूपमा रहेकी थिइन्। त्यस्तै टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ सहित नगरका विभिन्न वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरू र विभिन्न विद्यालयका प्रधानाध्यापकहरू विशेष अतिथिका रूपमा रहेको कार्यक्रममा फरक फरक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा विद्यालयका विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।
संस्कार सहितको शिक्षामा विशेष जोड दिँदै आएको एक्टिभ किड्स गार्डेनले कार्यक्रमको समुद्घाटन नै बालबालिकाका हजुरबुबा/हजुरआमाहरूलाई सम्मान गरेर गरेको थियो। अक्सर अभिभावक दिवसहरूमा विद्यार्थीका बुबा आमालाई मात्रै प्राथमिकता दिने गरिएको आजको समयमा विद्यालयले परिवारमा आफूहरूको भूमिका बुझेर सम्मान गरेकोमा सम्मानितहरू कृतज्ञ देखिन्थे। संस्कृत मन्त्र वाचन तथा भजन समेत समावेश गरिएको कार्यक्रम मार्फत आफ्नो धर्म संस्कृति र रीतिरिवाज बारे बालबालिकालाई सानो उमेर बाटै बुझाउनुपर्छ भन्ने सन्देश विद्यालयले दिएको थियो।

कार्यक्रममा उपस्थित अभिभावकहरूलाई स्वागत गर्दै विद्यार्थी आर्जन अर्यालले कार्यक्रमको महत्त्व बारे बताएका थिए। उनले कुनै पनि परिवार र बालबालिकाका लागि हजुरबुबा/हजुरआमाहरूको महत्त्व के हुन्छ ? भन्ने बारे सुन्दर भनाई राखेका थिए।
विद्यार्थीहरूको गायन र नृत्य प्रतिभा मार्फत भरपुर मनोरञ्जन दिँदै अगाडी बढाइएको कार्यक्रममा विभिन्न धर्म, संस्कृति तथा सम्प्रदायको प्रतिनिधित्व गर्दै विद्यार्थीहरू मञ्चमा प्रस्तुत भएका थिए । त्यस्तै बालबालिकाले प्राप्त गरेको विभिन्न पेसा/व्यवसायहरूको ज्ञान र दैनिक जीवनमा प्रयोग हुने तरकारी-फलफुलहरुको उत्कृष्ट तरिकाले वर्णन गरिएको थियो। कार्यक्रम अवधिभर प्रस्तुत गरिएका विभिन्न प्रतिभाहरू सहितको प्रस्तुति मार्फत एक्टिभ किड्स गार्डेनले आफूले दिँदै आएको शिक्षाको प्रतिबिम्ब प्रस्तुत गरेको थियो । स- साना बालबालिकाको निर्दोष आवाजमा गायन, नृत्य, कविता, वक्तृत्वकला आदि प्रस्तुत भइरहँदा विद्यालयका अभिभावकहरू उत्साहित देखिन्थे।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयकी प्रधानाध्यापक शारदा पाण्डेले विद्यालयले वर्ष भरि सिकाएका गतिविधि अभिभावक सहित बालबालिकाका हजुरबुबा/हजुरआमालाई देखाउने अवसरका रूपमा यस्तो कार्यक्रम राखिएको उल्लेख गरिन्। आज परिवार खण्डित हुँदै गएको र वृद्ध बुबा आमा छोडेर गाउँ बाट सहर अनि सहर बाट विदेश जाने प्रचलन बढेको भन्दै उनले त्यसले हाम्रो सामाजिक जीवनमा नकारात्मक असर परिरहेको बताइन्। आजका अभिभावकले आफ्ना बुबा आमालाई गरेको व्यवहार बाट नै बालबालिकाले सिक्ने हुँदा त्यसप्रति सचेत गराउनु र परिवारमा सबैको सम्मान गर्नुपर्छ भन्ने सिकाउनु पनि कार्यक्रमको मौलिक उद्देश्य भएको उनले बताइन्। पाण्डेले पढाई सँग सँगै बालबालिकालाई आफ्नो संस्कार/संस्कृति प्रति सचेत र समाज तथा राष्ट्र प्रति जिम्मेवार नागरिक बनाउने लक्ष्य विद्यालयले लिएको बताइन्।

अभिभावकहरूको तर्फबाट मन्तव्य राख्दै कार्यक्रममा सम्मानित एक विद्यार्थीका हजुरबुबा केशव रिमालले विद्यालयले निकै उत्कृष्ट अवधारणाका साथ कार्यक्रम गरेको भन्दै धन्यवाद दिए। कार्यक्रममा साना-साना विद्यार्थीले गरेको प्रस्तुति भए पनि आफूले निकै परिपक्व र व्यवस्थित पाएको भन्दै आयोजक प्रशंसाको पत्र भएको उल्लेख गरे। एक सरकारी विद्यालयका निवृत्त प्रधानाध्यापक समेत रहेका उनले विद्यालयलाई अझै उत्कृष्ट बनाउने विषयमा महत्त्वपूर्ण सल्लाह, सुझावहरू समेत कार्यक्रममा दिए।
विद्यालयलाई शुभकामना दिन मञ्चमा उक्लिएका विशेष अतिथि टोखा नगरपालिकाका उपप्रमुख तामाङले छोटो समयमा गरेको प्रगतिका लागि विद्यालय परिवारलाई बधाई दिए। विद्यालयको अझै बढी प्रगतिको कामना गरेका उनले त्यसका लागि नगरका तर्फबाट गर्नुपर्ने सबै सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए। अबको शिक्षा व्यक्तिमा रहेको प्रतिभा पहिचान गरेर त्यसलाई विकास गर्नेतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरेका उनले अभिभावकलाई पढ्नु लेख्नु मात्रै सिकाई हो भनेर नबुझ्न आग्रह गरे।
आफ्ना हरेक कार्यक्रमहरूमा सिर्जनात्मकता र रचनात्मक क्षमता प्रदर्शन गर्दै आएको एक्टिभ किड्स गार्डेनले शनिवार पनि त्यसको उत्कृष्ट प्रदर्शन गरेको थियो। विद्यार्थीले अहिलेको परिवार छुट्टिएर बस्ने समस्या, बिदेसिने समस्या र पारिवारिक बेमेल बारे प्रस्तुत गरेका विविध प्रस्तुतिहरूले उपस्थित सबैको मन जितेको थियो। हजुरबुबा/हजुरआमाको महत्त्व बारे छात्रा प्रिन्सा लम्सालले कविता वाचन गरिरहँदा र पारिवारिक समस्याले बालबालिकामा परेको असर बारे नाटक प्रस्तुत भइरहँदा धेरै अभिभावकहरू भावुक बनेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अमात्यले साना बालबालिकाहरूको प्रस्तुति निकै उत्कृष्ट लागेको प्रतिक्रिया दिइन्। उनले विद्यालयकी प्रधानाध्यापक पाण्डेले आफैँ खटेर सफल नेतृत्व गरिरहेको र त्यसमा शिक्षक/शिक्षिकाहरूको कुशलता अनि मेहनत मिसिँदा सिङ्गो विद्यालय नाम जस्तै सक्रिय र उत्कृष्ट बन्न सकेको उल्लेख गरिन्। मञ्चमा प्रस्तुत भएका कविता, नाटक गीत र अन्य केहीको गहिराई बारे चर्चा गरेकी उनले विद्यालयले गरेको मेहनत र दिएको संस्कार बाट आफू प्रभावित भएको बताइन् । उनले बालबालिकाका क्षेत्रमा आफूले लामो समय काम गर्दा बटुलेको अनुभव अभिभावकहरू माझ बाँड्दै बालविकासका लागि गर्नुपर्ने र गर्न नहुने व्यवहारहरू बारे समेत अवगत गराइन्।
कार्यक्रमकी सभापति खनालले उपस्थितिका लागि सबैलाई धन्यवाद दिइन्। उनले विद्यालयका शिक्षक/शिक्षिका तथा कर्मचारीहरूको अथक मेहनतका कारण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको भन्दै उनीहरूप्रति आभार व्यक्त गरिन् । विद्यालयका अभिभावकहरू बाट सधैँ रचनात्मक सल्लाह र सुझावको अपेक्षा रहने बताएकी उनले विद्यालय सँग सधैँ नजिक रहन उनीहरूलाई अपिल गरिन्। खनालले विद्यालयले आउँदा दिनहरूमा रचनात्मक कार्यक्रमहरू अझै गर्दै जाने प्रतिबद्धता सहित कार्यक्रम समापन गरिन्।
कार्यक्रमलाई कुशल कार्यक्रम सञ्चालक अनुराधा श्रेष्ठले सञ्चालन गरेकी थिइन्।
