Matra Education आइतबार, साउन १० २०८३

साउथवेस्टर्न स्कुललाई ‘बेस्ट अलराउन्डर स्कुल अवार्ड २०२४-२०२५’

साउथवेस्टर्न स्कुललाई ‘बेस्ट अलराउन्डर स्कुल अवार्ड २०२४-२०२५’

  • मात्र एजुकेशन
  • आइतबार, माघ ६ २०८१


काठमाडौँ- वसुन्धरामा अवस्थित साउथवेस्टर्न स्कुलले ‘बेस्ट अलराउन्डर स्कुल अवार्ड २०२४-२०२५’ प्राप्त गरेको छ। नेपालको शिक्षा क्षेत्रमा दिएको योगदानको उच्च मूल्याङ्कन गर्दै मलेसियाको हेल्प युनिभर्सिटीमा १८ जनवरी २०२५ मा आयोजित विश्व स्कुल शिखर सम्मेलनमा यो अवार्ड प्रदान गरिएको हो। स्कुलका प्रधानाध्यापक रमेश अधिकारीले सो कार्यक्रमबाट अवार्ड ग्रहण गरेका हुन्।

प्रधानाध्यापक अधिकारीले स्कुल शिक्षाको गुणस्तर, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप र विद्यार्थी-केन्द्रित गतिविधिहरूका आधारमा यो अवार्ड प्राप्त भएको जानकारी दिएका छन्। विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि स्कुलले नृत्य, गायन, नाटक, सङ्गीत, खेलकुदजस्ता विभिन्न क्लबहरूको सञ्चालनसँगै प्रिजेन्टेसन, प्रोजेक्ट कार्य, र फिल्ड भिजिटमा विशेष जोड दिएको उनले बताए। यस प्रकारका प्रयासहरूले स्कुललाई यो प्रतिष्ठित अवार्ड हात पार्न मद्दत पुगेको उनको भनाई छ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष टीकाराम महराका अनुसार यो साउथवेस्टन स्कुलको आठौँ अन्तर्राष्ट्रिय अवार्ड हो। उनले स्कुलको यो उपलब्धिले गर्व महसुस गराएको बताउँदै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्मेवारी थपिएको उल्लेख गरे। साउथवेस्टन स्कुलले अघिल्लो पाँच वर्षको अवधिमा ७ वटा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरेको छ।

सन् २०२० मा भारतको नयाँ दिल्लीमा भर्चुअल रूपमा आयोजित अन्तर्राष्ट्रिय शिक्षा शिखर सम्मेलनबाट ‘प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यालय’ अवार्ड, २०१९ मा दुबईको अमिट युनिभर्सिटीबाट प्रदान गरिएको ‘एक्सिलेन्स टिचिङ अवार्ड’, र २०२० मा एसियाको पहिलो भर्चुअल सम्मेलनबाट ‘ग्लोबल स्कुल अवार्ड’लगायतका सम्मान स्कुलको उपलब्धिमा छन्।

प्रधानाध्यापक रमेश अधिकारीले हालसम्म पाँच अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरेका छन्। उनले अमेरिकाको ‘अमेरिकाज बेस्ट प्रिन्सिपल अवार्ड’, एसियाको ‘भिजनरी प्रिन्सिपल अवार्ड’, र ‘नेपाल एजुकेशनल अवार्ड जापान –२०२३’ अन्तर्गत ‘स्कुल एजुकेशनल लिडर अफ द इयर’जस्ता सम्मान हासिल गरेका छन्।

यो अवार्डले साउथवेस्टन स्कुललाई अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट विद्यालयका रूपमा स्थापित गर्न मद्दत गरेको अधिकारीले बताए। उनका अनुसार यो उपलब्धिले नेपाली विद्यालयहरू पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको शिक्षा दिन सक्षम रहेको प्रमाणित गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड