काठमाडौँ – विश्वकै प्रतिष्ठित नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’ को नेपाल क्वालिफायर्स आगामी माघ २४ गते बिहीबार ठमेलस्थित ए लफ्ट होटेलमा आयोजना हुने भएको छ। आइतबार सोही होटेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले यसबारे जानकारी दिएको हो।
मण्डला इन्टरटेनमेन्टस्ले आयोजना गर्न लागेको यो प्रतियोगिताले नेपालमा रहेका लुकेका नृत्य प्रतिभाहरूलाई विश्वस्तरमा आफ्नो देशको कला र संस्कृति प्रस्तुत गर्ने अनुपम अवसर प्रदान गर्ने बताइएको छ। सन् २००८ देखि सुरु गरिएको यो डान्स प्लेटफर्ममा हरेक वर्ष २५ भन्दा बढी देशका करिब एक लाख नृत्य कलाकारले सहभागिता जनाउँदै आएका छन्। यो प्रतियोगितालाई संसारभरका नृत्य प्रेमीहरूका लागि ‘नृत्यको कुम्भ मेला’ भनेर पनि चिनिन्छ।
पत्रकार भेटघाट कार्यक्रममा आयोजकले कार्यक्रमको प्रोमो प्रदर्शन र निर्णायकहरूको परिचय समेत गराएको थियो। नेपाल संस्करणको विजेताको छनोट नृत्यको क्षेत्रमा प्रसिद्ध जेडी तमु, निशान्त गौतम र मुकेश ढकालको निर्णायक मण्डलले गर्नेछ।
आयोजकले नेपाल संस्करणको प्रतिस्पर्धा तिन विधामा गराउने तयारी गरेको छ।
अपर डिभिजन – जुनसुकै उमेरका नृत्य कलाकारहरूको लागि खुला।
अपर टिम डिभिजन – १८ वर्षमाथिका नृत्य कलाकारहरूको लागि।
जुनियर टिम डिभिजन – १७ वर्षसम्मका नृत्य कलाकारहरूको लागि।
नेपाल संस्करणका विजेताहरूले आगामी जुलाई १६ देखि २१, २०२५ मा अमेरिकाको लस एन्जलसमा हुने ‘वर्ल्ड अफ डान्स’ वर्ल्ड फाइनलमा नेपालको प्रतिनिधित्व गर्नेछन्।
यो प्रतियोगिताले नेपाली नृत्य कलाकारहरूको लागि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउने अवसर मात्र होइन, देशको सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने महत्त्वपूर्ण प्लेटफर्म बन्ने विश्वास गरिएको छ।