Matra Education बुधबार, कार्तिक ११ २०८३

टेक्सासको दुई दिने राष्ट्रिय सम्मेलन: व्यवस्थापन र सूचना प्रविधि एकीकृत गर्ने विषयमा महत्त्वपूर्ण छलफल

टेक्सासको दुई दिने राष्ट्रिय सम्मेलन: व्यवस्थापन र सूचना प्रविधि एकीकृत गर्ने विषयमा महत्त्वपूर्ण छलफल

  • मात्र एजुकेशन
  • शनिबार, पौस ६ २०८१


काठमाडौँ- टेक्सास इन्टरनेशनल कलेजमा आयोजित व्यवस्थापन नवप्रवर्तन र सूचना प्रविधि एकीकृत गर्ने सम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन सत्र अर्थपूर्ण छलफल सहित समापन भएको छ। टेक्सास कलेजले विश्वविद्यालय अनुदान आयोग र त्रिभुवन विश्वविद्यालय सँगको सहकार्यमा उक्त दुई दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको हो। शुक्रवार कलेजको सभाहलमा आयोजित एक भव्य कार्यक्रमका बिच सम्मेलनको उद्घाटन गरिएको हो। सम्मेलन शनिवार सम्म चल्नेछ।

टेक्सास कलेजका अध्यक्ष भेषराज पोखरेलको सभापतित्वमा सञ्चालित उद्घाटन सत्रमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री इन्जिनियर गणेश शाह विशेष अतिथिका रूपमा रहेका थिए। यसैगरी कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालयको प्रतिनिधित्व गर्ने विशेष अतिथिहरू सहित विज्ञान र व्यवस्थापन क्षेत्रका विज्ञ तथा प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा टेक्सास कलेजको तर्फबाट संरक्षक केशव कुमार श्रेष्ठ, चिफ अफ एकेडेमिक्स प्रा डा गोविन्द प्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

उद्घाटन सत्रमा विशेष अतिथि शाहले सूचना प्रविधि र व्यवस्थापनलाई एकीकृत गर्दा कसरी शैक्षिक संस्था र सिङ्गो राष्ट्रलाई योगदान पुर्‍याउन सकिन्छ भन्ने विषयमा चर्चा गरे। उनले राज्यले सूचना प्रविधिको महत्त्व बुझ्न नसकेको उल्लेख गर्दै अबको समय सूचना प्रविधिको समय हुने हुँदा त्यसमा सबैको पहुँच पुर्‍याउने तिर ध्यान दिइनुपर्नेमा जोड दिए।

त्यस्तै कार्यक्रमको प्रमुख वक्ता समेत रहेका प्रमुख अतिथि अधिकारीले कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगले गर्दै आएका कामहरू बारे जानकारी गराउनुका साथै व्यवस्थापन नवप्रवर्तन र सूचना प्रविधि एकीकृत गर्ने विषयमा महत्त्वपूर्ण भनाइहरू राखे। उनले यस किसिमका कार्यक्रमले नेपालको शिक्षा क्षेत्र विकासका लागि योगदान दिने उल्लेख गरे।

उद्घाटन सत्र पछि विभिन्न कार्यपत्र र अनुसन्धान पत्रहरू प्रस्तुत गरिएको थियो। कार्यक्रम शनिवार समापन हुँदा सम्म ५०ं भन्दा बढी अनुसन्धान पत्रहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। कार्यक्रममा कर्पोरेट क्षेत्रका १५ भन्दा बढी उद्योगहरूको प्रतिनिधित्व रहेको छ भने विभिन्न ७ वटा सत्रहरू सञ्चालन हुनेछन्।

उद्घाटन सत्र पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सास एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले शिक्षालाई अनुसन्धान सँग जोड्नका लागि यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। शिक्षा र अनुसन्धान सँग सँगै जानुपर्ने भए पनि पछिल्लो समय शिक्षामा अनुसन्धान कम हुने गरेको उल्लेख गर्दै उनले सूचना प्रविधि बिना अब व्यवस्थापन विषय पनि अधुरो हुने धारणा राखे। समाजको हरेक क्षेत्रमा सूचना प्रविधि अपरिहार्य भएको यो अवस्थामा त्यसको प्रयोग गरेर व्यवस्थापनलाई अर्थपूर्ण बनाउनका लागि पनि सूचना प्रविधि र व्यवस्थापन जोडेर यस किसिमको सम्मेलन आयोजना गरिएको श्रेष्ठको भनाई थियो।

आयोजकले शनिवार सबै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेर कार्यक्रम समापन हुने जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड