काठमाडौँ- वसुन्धरा स्थित साउथ वेस्टर्न स्कुलको आयोजनामा ‘इन्टर प्रि स्कुल कल्चरल ड्रेस कम्पिटिसन’ सम्पन्न भएको छ। गत शुक्रवार स्कुलको सभाहलमा आयोजित कार्यक्रमको तेस्रो संस्करणमा विभिन्न १८ वटा प्रि स्कुलहरूको सहभागिता रहेको थियो।
साउथवेस्टर्न स्कुलका प्रधानाध्यापक रमेश अधिकारी, सह-प्रधानाध्यापक कुमार केसी, विभिन्न तहका इन्चार्जहरू तथा शिक्षक/शिक्षिकाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा निर्णायकको भूमिका त्रिभुवन विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक डा. तीर्थ राज लुइँटेलले निभाएका थिए।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै विद्यालयकी प्रि स्कुल इन्चार्ज अनिता केसीले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारिन्। उनले बालबालिकालाई पाठ्यक्रम बाहिरको ज्ञान दिन र आफ्नो संस्कृति बारे बुझ्न, त्यसलाई जोगाउन र त्यसप्रति गर्व गर्न लगाउन यस्ता कार्यक्रमको विशेष भूमिका हुने उल्लेख गरिन्।
प्रतियोगितामा जेभियर्स प्रि-स्कुलले प्रथम स्थान, स्वीट हार्ट मन्टेश्वरी प्रि-स्कुलले दोस्रो स्थान र लिटिल फ्लावर्स मन्टेश्वरी स्कुलले तृतीय स्थान हासिल गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै निर्णायकको भूमिका निभाएका डा. लुइँटेलले मोबाइलको लत लागेर आजका बालबालिकाहरूको सिर्जनात्मक क्षमता कमजोर बन्दै गएको भन्दै उनीहरूलाई प्राकृतिक वातावरणमा खेल्न दिनुपर्ने धारणा राखे। उनले ‘स्क्रिन टाइम’ लाई पनि ज्ञानवर्धक कुरा हेरेर सदुपयोग गर्न सकिने उल्लेख गरे।
विद्यालयका प्रधानाध्यापक रमेश अधिकारीले कार्यक्रममा सक्रिय सहभागिता जनाउने सबै विद्यालय, कार्यक्रम सफल बनाउन लाग्ने सबै शिक्षक कर्मचारी, निर्णायक लगायत प्रति आभार प्रकट गरे। उनले साउथवेस्टर्न स्कुलले बालबालिकाको विकासमा योगदान गर्नका लागि समय समस्यामा यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताउँदै भोलिका दिनमा अझै सिर्जनात्मक कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम समापन पश्चात् भव्य पुरस्कार वितरण समारोह आयोजना गरेर विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो।
