काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विद्यालय शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुने बताएका छन्। शुक्रवार निजी विद्यालयहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) द्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। दाहालले नेपालको शिक्षा विकासका लागि निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सामुदायिक र निजी विद्यालयले एक अर्काको बलिया पक्षहरू बाट सिक्दै अगाडी बढ्नुपर्ने धारणा राखे।
आफूले प्रधानमन्त्रीको तेस्रो कार्यकालमा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण कामहरू गरेको उल्लेख गरेका उनले विद्यालय शिक्षा विधेयक २०८० लाई संसद्मा पेस गर्नुलाई सबैभन्दा ठुलो उपलब्धिका रूपमा चित्रित गरे। उनले भने, ‘संघिय शिक्षा ऐनले अहिलेको शिक्षा क्षेत्रमा विद्यमान सबै समस्या समाधान गरोस् भनेर बडो मेहनतका साथ मेरो नेतृत्वको सरकारले विधेयकलाई संसद्मा पुर्याएको छ। मेरै नेतृत्वमा त्यसलाई संसद्मा त पुर्याइयो तर त्यसलाई छलफल गरेर टुङ्गोमा पुर्याउन बाँकी छ। अहिले समितिमा त्यो छलफलका क्रममा छ र आउने हिउँदे अधिवेशनमा त्यसलाई पारित गर्ने हाम्रो प्रयास छ।’
सरोकारवालाहरूको माग मुद्दाका विषयमा समेत छलफल गरेर संशोधन मार्फत त्यसलाई समेटिएको भन्दै उनले अगाडी थपे, ‘त्यो शिक्षा ऐनमा यहाँहरू समेतको सुझावलाई ध्यान दिँदै मैँले कार्यदल नै बनाएर सबै सरोकारवालाका चासो चिन्तालाई पनि सम्बोधन हुने गरी संशोधन हाल्न लगाएको छु। र मलाई विश्वास छ ती संशोधन सहित शिक्षा ऐन पारित हुँदा अहिले हामीले भोगिरहेका थुप्रै नीतिगत र व्यवहारिक समस्याको सम्बोधन त्यसले गर्नेछ र सबैको भावना अधिकतम त्यसले समेट्नेछ।’
फरक प्रसङ्गमा उनले आफू नेतृत्वको सरकारले विश्वविद्यालयलगायतका शैक्षिक संस्थामा मेरिटोक्रेसी लागू गरेको भए पनि वर्तमान सरकारले हस्तक्षेप गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले १७ वर्षपछि पहिलो पटक देशका सबै सामुदायिक विद्यालयमा शैक्षिक सत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक आफ्नो सरकारले पुर्याएको दाबी गरे। निजी क्षेत्र बिना कुनै पनि देशको उन्नति हुन नसक्ने उल्लेख गरेका दाहालले विस्तृत शान्ति सम्झौता गरे देखि नै आफू निजी क्षेत्रलाई सँगै लिएर जानुपर्छ भन्ने मान्यतामा अडिग रहेको उल्लेख गरे।
प्रमुख अतिथि प्रचण्डको सम्बोधन अघि प्याब्सन अध्यक्ष डिके ढुङ्गानाले कार्यक्रमको अध्यक्षता गर्दै निजी शिक्षा क्षेत्रका समस्या, हाम्रो समग्र शिक्षा क्षेत्रको अवस्था लगायत बारे जानकारी गराएका थिए। अन्तर्राष्ट्रिय सम्मेलनमा महत्त्वपूर्ण विषयहरू छलफल गर्ने र अबको शिक्षा नेतृत्व गर्न सक्ने विश्व स्तरीय जनशक्ति उत्पादन गर्नेतिर हुनुपर्ने हुँदा त्यसैको प्रयास स्वरूप कार्यक्रम आयोजना गरिएको बताए। विगतका दुई संस्करणले नेपालको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्न सकेको र तेस्रो सम्मेलन अझै बढी सफल हुने उनको विश्वास थियो। उनले राज्यले नीतिगत स्पष्टता ल्याएर वातावरण बनाए नेपाललाई नै आकर्षक शैक्षिक गन्तव्य बनाउन सकिने उल्लेख गरे।
शुक्रवार बौद्ध स्थित हायात रिजेन्सी होटेलमा सुरु भएको प्याब्सन तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने तालिका छ। उद्घाटन पश्चात् आजै विभिन्न समसामयिक शैक्षिक विषयहरू माथि छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम छ भने प्रमुख वक्ता फिनल्यान्डका एरि पोक्काले परिवर्तनको नेतृत्व कसरी गर्ने ? (हाउ टु लिड अ चेन्ज) भन्ने विषयमा अर्थपूर्ण प्रस्तुति दिएका छन्। कार्यक्रममा सहभागी हुन उल्लेख्य सङ्ख्यामा प्याब्सन प्रतिनिधिहरू विभिन्न जिल्ला बाट काठमाडौँ आएका छन्।
कार्यक्रमका थप तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्:
भिडियो हेर्नुहोस्: