Matra Education आइतबार, साउन १० २०८३

साहित्यिक कार्यक्रम ‘चिन्तन चौतारी’ को छैटौँ शृङ्खला सम्पन्न

साहित्यिक कार्यक्रम ‘चिन्तन चौतारी’ को छैटौँ शृङ्खला सम्पन्न

  • मात्र एजुकेशन
  • शनिबार, मंसिर १ २०८१


काठमाडौँ- साहित्य प्रेमीहरूलाई लक्षित गर्दै आयोजना गरिने ‘चिन्तन चौतारी’ कार्यक्रमको छैटौँ शृङ्खला सम्पन्न भएको छ। शनिवार छिमेकी बैंकेट जोरपाटीमा आयोजित कार्यक्रम साहित्य पारखीहरूको भव्य उपस्थितिका बिच सम्पन्न भएको हो ।

कार्यक्रममा प्रसिद्ध साहित्यकार कृष्ण धरावासी र उनकी पत्नी साहित्यकार मञ्जु विमली विशेष अतिथिका रूपमा रहेका थिए । नेपाली साहित्यका प्रसिद्ध कृतिहरूमा प्राण भरेका चर्चित सञ्चारकर्मी अच्युत घिमिरेले अतिथि द्वयसँग जीवन, जगत्, लेखन यात्रा, पुस्तक प्रकाशनका चुनौती, सफलता र असफलतासँग सम्बन्धित विविध पक्षहरूमा अन्तरक्रिया गरेका थिए।

कार्यक्रमको अर्को आकर्षणका रूपमा प्रश्नोत्तर सत्र रहेको थियो। दर्शक दीर्घाबाट उठेका जिज्ञासामूलक प्रश्नहरूलाई अतिथि द्वयले आफ्नो बौद्धिक उत्तर मार्फत सम्बोधन गरेका थिए। साहित्य, सृजनात्मकता र जीवनका विविध पक्षमाथि केन्द्रित संवादले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

कार्यक्रममा साहित्यकार धरावासीले आफ्नो बाल्यकालदेखि लेखन यात्रासम्मका अनुभवहरू बाँडे। उनले प्रशंसा र आलोचनाबाट माथि उठ्नुपर्ने धारणा व्यक्त गर्दै आफ्नो जीवनमा हासिल गरेको उपलब्धिमा सन्तुष्ट हुनुपर्ने कुरामा जोड दिए। नेपाली समाजमा छोराछोरीलाई सानै उमेरमा विदेश पठाउने प्रवृत्ति बढेको प्रति चिन्ता व्यक्त गरेका उनले विदेशको जीवन सामाजिक सञ्जालहरूमा देखिए जस्तो मात्रै नहुने धारणा राखे। नेपालका चार विश्वविद्यालयहरूले आफ्नो उपन्यास ‘शरणार्थी’ पठन सामग्रीमा समावेश गरे पनि आधिकारिक जानकारी नगराएको प्रति असन्तुष्टि जनाउँदै उनले लेखकलाई उसको कृति यसरी राख्दा औपचारिक जानकारी दिन सुझाए।

कार्यक्रमको अन्त्यमा ‘चिन्तन चौतारी’का परिकल्पनाकारहरूमध्ये एक सुवास प्याकुरेलले धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा सहभागी अतिथि, दर्शक, र आयोजक सबै प्रति कृतज्ञता व्यक्त गरे।

‘चिन्तन चौतारी’ साहित्य प्रेमीहरूलाई हर महिनाको पहिलो शनिवार जुटाउने एउटा नियमित मञ्च हो। आयोजकले आगामी शृङ्खलाहरूमा पनि यस्तै प्रेरणादायक तथा जानकारीमूलक अन्तरक्रियाहरू गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड