काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक–२०८० लाई अन्तिम रूप दिन तिन उपसमिति बनाइने बताएकी छिन्। बिहीबार शिक्षा पत्रकार समूहले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले छिट्टै शिक्षा ऐन जारी हुने बताएकी हुन्।
हाल सङ्घीय संसद्को शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विधेयक छलफलका क्रममा रहेको र आफू समिति सभापति थापा सँग निरन्तर संवादमा रहेको उल्लेख गर्दै उनले तीन वटा उपसमिति बनाएर विधेयकका विषयमा काम गर्ने तयारी समितिले गरेको बताइन्। उनका अनुसार संशोधनकर्ताहरूले दिएको विचारलाई छलफल गर्ने एउटा उपसमिति, सरोकारवालाहरूले दिएको सुझावलाई छलफल गर्ने उपसमिति र सबै खालको संवाद गर्ने अर्को उपसमिति गठन गरिनेछ।
नयाँ शिक्षा ऐनका लागि काम गर्नेहरू र यस सम्बन्धी चासो राख्नेहरू सबै ऐन बनाउँछौँ भन्ने प्रतिबद्धताका साथ अगाडि बढेकाले ऐन छिटै जारी हुने उनको विश्वास थियो।