काठमाडौँ- काठमाडौँ महानगरपालिका शिक्षा विभागले आयोजना गरेको हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीको सिकाइ सुधारका लागि सञ्चालित फेस्टिभल क्याम्पको तरुण माध्यमिक विद्यालय स्रोत केन्द्रमा उद्घाटन गरिएको छ। आज एक कार्यक्रमका बिच काठमाडौँ महानगरपालिका वडा न १६ का वडा अध्यक्ष पुष्प महर्जनले कार्यक्रममा पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा उक्त स्रोत केन्द्र अन्तर्गतका तरुण माध्यमिक विद्यालय, शीतला माध्यमिक विद्यालय र जनजागृति ज्ञान रश्मि माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, वि.व्य.स पदाधिकारी ,शि.अ.सं का पदाधिकारी, फेस्टिभल क्याम्पमा सहजीकरण गर्ने शिक्षकहरू ,सहजीकरण गर्ने सेवा प्रदायक संस्थाका प्रतिनिधिहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
तरुण माध्यमिक विद्यालयको शिक्षक गणेश गुरागाईँले कार्यक्रम सञ्चालन गरेका थिए। विद्यालयका प्रधानाध्यापक बाबुराम न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा तरुण माध्यमिक स्रोत केन्द्रका स्रोत शिक्षक नारायण प्रसाद नेपालले स्वागत मन्तव्य राख्दै १० दिनको फेस्टिभल क्याम्पमा गरिने गतिविधिको बारेमा जानकारी गराएका थिए।
त्यसैगरी जनजागृति ज्ञान रश्मि माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्षले फरक विद्यालयका विद्यार्थीहरूले एकै ठाउँमा बसेर आफ्ना अनुभव आदानप्रदान गरी सिकाई हासिल गर्ने अपेक्षा राख्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा नम्बर १६ का वडाध्यक्ष महर्जनले काठमाडौँ महानगरपालिकाले शिक्षाको क्षेत्रमा फरक ढङ्गले नवीन कार्य गर्दै आएको बताए । साथै २०८० सालको एसइई परीक्षामा तरुण माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गरेर शिक्षा दिवसको दिनमा बागमती प्रदेश सरकारबाट पुरस्कार पुरस्कृत भएको स्मरण गर्दै काठमाडौँ महानगरका सम्पूर्ण विद्यालयले उत्कृष्ट नतिजा तथा व्यावहारिक सिकाइको लागि यस फेस्टिभल क्याम्प लगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको कुरा उल्लेख गरे।
१० दिन सञ्चालन हुने यस कार्यक्रममा गणेश गुरागाईँ, शिवराज पौडेल, दुर्गा नारायण श्रेष्ठ लगायत शिक्षकहरूले सहजीकरण गर्नेछन्। क्याम्पमा स्रोत केन्द्र अन्तर्गतका विद्यालयबाट १४० जना विद्यार्थीको सहभागिता रहनेछ । विद्यार्थीहरूको स्वागत नाच समेत प्रस्तुत गरिएको उद्घाटन कार्यक्रममा क्याम्प बारे विस्तृत जानकारी उनीहरूलाई दिइएको थियो । सहभागी हुन आएका विद्यार्थीहरूले कार्यक्रमको बारेमा उत्सुक रहेको बताए।
