Matra Education आइतबार, साउन १० २०८३

पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्त्वपूर्ण हुने मन्त्री भट्टराईको दाबी

पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्त्वपूर्ण हुने मन्त्री भट्टराईको दाबी

  • मात्र एजुकेशन
  • मंगलबार, असोज २२ २०८१


काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पुस्तक नीति २०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिने कार्य प्रारम्भ गरेको छ । सो क्रममा सोमबार मन्त्रालयले मन्त्री विद्या भट्टराईको अध्यक्षतामा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा मन्त्री भट्टराईले पुस्तक पढ्ने बानी बसाउने र पुस्तकालय‌लाई अत्यावश्यक पुस्तक सहित उपयोगी बनाउने उद्देश्यले यो नीति ल्याउन लागिएको उल्लेख गरिन् ।

पुस्तक नीतिलाई अन्तिम रूप दिन बृहत् छलफल आयोजना गरिएको उल्लेख गर्दै सुझाव सङ्‌कलन गर्न र सानो समूहबाट त्यसलाई प्रविष्टि गराई स्वीकृतिको प्रक्रियामा लैजाने भट्टराईको भनाई थियो ।

मन्त्री भट्टराईले लेखक, प्रकाशकलाई मानव पुँजीका रूपमा लिएर अथाह ज्ञानका विषयवस्तुलाई पढेर र पढेका कुरा अरूलाई सिकाएर एवम् पढ्‌नेले पढ्न सिकाएर पुस्तकको महिमा बढाउन सकिने र यसका लागि समुदाय स्तरमा प्रशस्त मात्रामा पुस्तकालयको आवश्यकता बोध गराउनुपर्ने उल्लेख गरिन्।

पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्त्वपूर्ण हुने भन्दै मन्त्री भट्टराईले छिटो यसलाई लागू गरिने बताइन्।

अन्तरक्रियामा प्रतिनिधि सभा सदस्य मनिष झाले विद्यालय र विश्वविद्यालयमा मात्र नभई होटेल , रेस्टुरेन्टमा समेत पुस्तक पढ्ने सुविधा प्रदान गर्नुपर्ने र नेपाली पुस्तकलाई विदेशमा समेत पहुँच बढाएर गुणस्तरीय पुस्तक सबैलाई उपलब्ध गराउने सहज वातावरण बनाउन केन्द्रित हुनुपर्ने बताए।

उक्त अन्तर्क्रियामा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ , विभिन्न प्रकाशनहरू , काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय सहित रिड नेपाल, बालपुस्तक विकास तथा छनोट मस्यौदा कार्यदल , डिल्लीरमण रेग्मी पुस्तकालय ,नेपाल राष्ट्रिय पुस्तक तथा विक्रेता सङ्‌घ, नेपाल सामुदायिक पुस्तकालय सङ्घ , त्रिवि केन्द्रीय पुस्त‌कालय, नेपाल पुस्तकालय सङ्‌घ, मन्त्रालयका कर्मचारी लगायतको संलग्नता थियो ।

अन्तरक्रियामा पुस्तक नीतिमा समेटिएका सकारात्मक पक्षको समीक्षा सहित सुधारका लागि विभिन्न सुझाव प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ।

बि .स .२०६४ देखि विभिन्न कार्यदल गठन हुँदै मस्यौदा तयार पारिएको भए पनि हाल सम्म पुस्तक नीति स्वीकृत हुन सकेको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड