काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक छिटो ल्याउन आफू प्रतिबद्ध रहेको बताएकी छिन्। बुधवार शिक्षा पत्रकार समाजको चौथो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रका धेरै समस्याहरूको समाधान विधेयक मार्फत गर्न सकिने हुँदा सरकारले यसलाई प्राथमिकतामा राखेको बताएकी हुन्।
हाल संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफल चलिरहेको र ४ गते बस्ने बैठक पछि सुझाव संकलनका लागि समितिले प्रदेश प्रदेशमा जाने कार्यक्रम बनाएको पनि उनले जानकारी दिइन्। शिक्षा ऐन बन्ला कि नबन्ला भन्ने दुबिधा कतिपयमा रहेको उल्लेख गर्दै उनले भनिन्, “संविधान संशोधन हुने चर्चाले पनि ऐन के होला भन्ने जिज्ञासा उत्पन्न भएको छ। म भन्न चाहन्छु हामीले जतिसक्दो छिटो ऐन बनाउनुपर्छ। त्यसपछि यदि संविधान संशोधन भयो भने ऐन पनि संशोधन गरौँला।” शिक्षकहरूका विषयमा पनि अहिले प्रस्टता नरहेको भन्दै उनले अगाडी थपिन्, ” शिक्षक के हो? कस्तो हुने भन्ने परिभाषा छैन। सबै कुराको परिभाषा ऐनले गर्छ। ऐन मार्फत हामी शिक्षकहरू देखि लिएर सबैको सम्मान सुनिश्चित गर्छौँ।”
शिक्षा क्षेत्रमा मात्रै नभई समग्र देशमै सुशासनको अभाव रहेको भन्दै मन्त्री भट्टराईले कर्मचारी तन्त्रले जे गर्दा पनि हुन्छ भन्ने सोचको अन्त्य हुनुपर्ने धारणा राखिन्। आफ्ना योजनाहरूको फेहरिस्त समेत सुनाएकी उनले दरबन्दी मिलानको काम, पाठ्यक्रममा रहेको समस्या, परीक्षा प्रणालीको समस्या र विद्यालय देखि विश्वविद्यालय सम्मको समग्र शैक्षिक अवस्था सुधारका लागि आफूले काम गरिरहेको बताइन्।
शिक्षा क्षेत्रमा योगदान गरेकाहरू सम्मानित
राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर आयोजना गरिएको वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा शिक्षा पत्रकार समाजले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेर विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरेको छ। कार्यक्रममा शिक्षाविद् प्रा डा वासुदेव काफ्ले, नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारी, सिन्धुलीको गणेश माविका व्यवस्थापन समितिका अध्यक्ष विमला विश्वकर्मा, कैलालीको कलम बल मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक युवराज बम, आसमान नेपालका सञ्चालक सदस्य रेखा यादव सम्मानित भएका हुन्।
यसै गरी रु २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका शिक्षा पत्रकार सूर्यप्रसाद पाण्डेले प्राप्त गरेका छन् ।

नयाँ कार्यसमिति चयन
चौथो वार्षिकोत्सव तथा अधिवेशन बाट शिक्षा पत्रकार समाजले नयाँ नेतृत्व पाएको छ। देवीप्रसाद सापकोटा समाजका नयाँ अध्यक्ष चयन भएका छन्। त्यस्तै कार्यसमितिको उपाध्यक्षमा मतिना त्वानावसु, महासचिवमा श्याम तण्डुकार, उपमहासचिवमा बालमुकुन्द आचार्य, सचिवमा लक्ष्मीप्रसाद ढकाल, कोषाध्यक्षमा यशोदा अधिकारी निर्वाचित भएका छन्।
यसै गरी सदस्यमा सुरेश यादव, सुनिल आचार्य, रमेश लामिछाने, विपिन पोखरेल, शर्मिला विश्वकर्मा र पुष्पा अधिकारी रहेका छन्।
सभाको बन्द सत्रले साङ्गठनिक र आर्थिक प्रतिवेदन छलफल सहित पारित गरेको छ ।
