काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) को गोदावरी नगर कमिटीको आयोजनामा अटिजम सम्बन्धी विशेष कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । शनिवार राष्ट्रिय बाल दिवसको अवसर पारेर ‘अटिजम केयर नेपाल सोसाइटी’ सँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। मोलिस कलेज, कुमारीपाटीमा सम्पन्न यस कार्यक्रममा विभिन्न विद्यालयका ६० जना संस्थापक प्रधानाध्यापक र शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा अटिजमबारे व्यापक जानकारी गराउँदै ‘अटिजम केयर नेपाल सोसाइटी’ का प्रमुख प्रशासक सुरेन्द्र बज्राचार्यले अटिजमलाई रोग नभई अपाङ्गताको प्रकारको रूपमा बुझ्नुपर्ने बताए। उनले अटिजम भएका बालबालिकाको विशेष क्षमताको पहिचान गर्न आवश्यक रहेको कुरामा जोड दिए।
“अटिजम भएका बालबालिका साधारण व्यक्तिहरूभन्दा फरक शारीरिक र मानसिक क्षमतासहित जन्मिएका हुन्छन्,” बज्राचार्यले भने, “उनीहरूलाई विशेष तरिकाले बुझेर सहयोग गर्नुपर्छ। अटिजम भएका धेरैजसो बालबालिकालाई अङ्ग्रेजी भाषामा राम्रो बुझाउन सकिन्छ र उनीहरूले नेपाली भन्दा अङ्ग्रेजी भाषा चाँडो सिक्छन्।”
कार्यक्रममा गोदावरी अपेन सँगै काठमाडौँ महानगर अपेन, महालक्ष्मी अपेन, ललितपुर महानगर अपेन, टोखा अपेन र गोकर्णेश्वर अपेनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले अटिजमबारे व्यापक ज्ञान हासिल गर्दै यसलाई सही रूपमा बुझ्न र शिक्षण प्रक्रियामा प्रयोग गर्नुपर्ने कुरालाई प्राथमिकतामा राखेका थिए।
यस प्रकारका कार्यक्रमहरूले शिक्षण क्षेत्रमा अटिजमबारे सचेतना फैलाउन र अटिजम भएका बालबालिकाहरूको क्षमता उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकको छ।
