काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाउने तर्फ मन्त्रालयले काम थालेको बताएकी छिन्।
वैदेशिक अध्ययनको सवालमा देशमा गुणस्तरीय उच्च शिक्षा वातावरण निर्माणमा भएका नीतिगत नियमहरूको प्रभावकारी कार्यान्वयन सहित आवश्यक नयाँ ऐन र कानुनको पहिचान गरेर कार्ययोजना बनाउन लागिएको जानकारी उनले दिइन्।
मन्त्री भट्टराईले यो कुरा बिहीबार मन्त्रालयले आयोजना गरेको रुसमा अध्ययन गर्न जाने विद्यार्थी र अभिभावकसँगको अन्तरक्रियामा बताएकी हुन्। ‘
रुससहितका देशमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूलाई पूर्व जानकारी र सचेतना प्रदान गरेर मात्रै अध्ययन अनुमति पत्र जारी गर्ने लगायतका विषयमा मन्त्रालयको ध्यान आकर्षित गरिएको उनले उल्लेख गरिन्।
नेपाली विद्यार्थी मात्र होइन, विदेशका विद्यार्थी पनि नेपालमा अध्ययनका लागि आउने वातावरण निर्माण गर्न मन्त्रालय तयारीमा जुटिरहेको बताउँदै मन्त्री भट्टराईले वैदेशिक शिक्षालाई विशेषकृत गर्ने खाका तयार गरिने जनाइन्।
कार्यक्रममा प्राप्त सुझावहरूलाई समेटेर आवश्यक नीति र नियम निर्माण गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता भट्टराईले व्यक्त गरिन्।
अन्तर्क्रिया कार्यक्रममा रुसमा वैदेशिक अध्ययन गर्न जाने विद्यार्थी र तिनका अभिभावकहरूले सो सम्बन्धी विभिन्न सुझाव प्रदान गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उल्लेख गरेको छ।