काठमाडौँ- वसुन्धरा स्थित साउथ वेस्टर्न स्कुलले आयोजना गरेको साउथ वेस्टर्न आइकन २०८१ को ग्राण्ड फिनाले सम्पन्न भएको छ। शुक्रवार राष्ट्रिय बाल दिवसको अवसर पारेर साउथ वेस्टर्न कलेजको सभाहलमा आयोजना गरिएको एक भव्य कार्यक्रमका बिच सयौँ विद्यार्थी बाट छानिएर आएका १२ जनाले साउथ वेस्टर्न आइकनका लागि अन्तिम प्रतिस्पर्धा गरेका हुन्। किताबी ज्ञान सँगै अतिरिक्त क्रियाकलाप र विद्यार्थीको व्यक्तित्व विकासमा जोड दिँदै आएको स्कुलले विद्यार्थीको क्षमता विकासका लागि कार्यक्रम आयोजना गरेको हो।
साउथ वेस्टर्न स्कुल सञ्चालक समितिका अध्यक्ष टिकाराम महराको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्मरण शक्तिमा ३ पटक गिनिज विश्व रेकर्ड राख्न सफल डा नवल पजियार र गायक धिरज राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश अधिकारी, सह-प्रधानाध्यापक कुमार केसी, विभिन्न तहका इन्चार्जहरू सहित शिक्षक, शिक्षिका, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको व्यापक उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै विद्यालयका इसिए इन्चार्ज धिरज शर्माले विद्यालय, विद्यार्थी र अभिभावकले धेरै प्रतीक्षा गरेको क्षणमा आइपुगेको उल्लेख गरे। विद्यालय सधैँ बालबालिकाको सर्वपक्षीय विकासमा केन्द्रित रहेको बताएका उनले आठ तह पार गरेर आएका १२ जनाले प्रतिस्पर्धा गरिरहेको बताए। विद्यार्थीहरू आफ्नो मेहनत र समर्पणले यहाँ सम्म आएको भन्दै उनले उनीहरूको आगामी यात्रा पनि सफल हुने विश्वास व्यक्त गरे। निर्णायकको भूमिका निर्वाह गर्न उपस्थित अतिथिहरूलाई उनले विशेष आभार व्यक्त गरे।
ग्राण्ड फिनालेमा तिन समूहमा विभाजन गरिएका विभिन्न तहका १२ जनाले प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धीहरूलाई ६ वटा विभिन्न राउन्डमा प्रतिस्पर्धा गराइएको थियो।
कार्यक्रमको मुख्य आकर्षण समेत बनेको प्रतिस्पर्धा साँच्चै रोचक बनेको थियो। अन्तिम चरणको प्रतिस्पर्धा र उपाधि सँगको छोटो दुरीका कारण प्रतिस्पर्धीहरू आफूलाई अब्बल देखाउन प्रयासरत देखिन्थे। सँगै उनीहरूको मेहनत र मार्ग निर्देशन गर्ने शिक्षक/शिक्षिकाको सिर्जनात्मकता मञ्चमा प्रस्ट झल्किएको थियो। सांस्कृतिक प्रस्तुति, गायन, नृत्य, मन्तव्य, प्रस्तुतीकरण, चित्र व्याख्यान र नाटकमा भाग लिएका प्रतिस्पर्धी विद्यार्थीले आफ्नो फरकपन प्रस्तुत गर्ने प्रयास गरेका थिए । समग्र प्रस्तुतिहरू हेर्दा बालबालिकाको प्रतिस्पर्धा नभई व्यावसायिक कलाकारको प्रस्तुति जस्तो देखिन्थ्यो ।
ग्राण्ड फिनालेमा प्राथमिक देखि माध्यमिक तह पढ्ने आफ्ना छोराछोरीहरूले दिएको प्रस्तुति देखेर विद्यालयका अभिभावकहरू प्रफुल्लित देखिन्थे।
गायक धिरज राईको विशेष साङ्गीतिक प्रस्तुतिले कार्यक्रम अझै रोचक बनेको थियो।
कार्यक्रम बारे मात्र एजुकेसन सँग कुरा गर्दै साउथ वेस्टर्न स्कुलका प्रधानाध्यापक रमेश अधिकारीले पि.जि देखि पि.एच.डि सम्म पढाइ हुने थोरै शैक्षिक संस्था भित्र विद्यालय पर्ने उल्लेख गरे। विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र आत्मविश्वास विकासका लागि विद्यालयले शिक्षा र अतिरिक्त क्रियाकलापलाई सँग सँगै लगेको उनको भनाई थियो। प्रतिस्पर्धा गरेपछि नतिजा जे जस्तो आए पनि स्विकार्नुपर्ने भन्दै उनले आफूमा रहेको डर जितेर मञ्च सम्म पुग्दै आफूलाई अब्बल साबित गर्ने सबै विद्यार्थी आफ्ना लागि विजेता भएको बताए। हार जित र उतारचढावहरू मानव जीवनको अभिन्न अंग भएको उनको धारणा थियो। यस्ता कार्यक्रमहरूले शिक्षण सिकाई प्रक्रियालाई रोचक बनाउने र विद्यार्थीको क्षमता पहिचान गरी त्यसलाई उनीहरूको करियर बनाउन सहयोग गर्ने उनको भनाई थियो।
कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति महराले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले आगामी दिनमा पनि यस किसिमका कार्यक्रम विद्यालयले आयोजना गर्ने हुँदा उस्तै साथ सहयोगको अपेक्षा आफूले गरेको उल्लेख गरे। विद्यार्थीको सर्वपक्षीय विकासका लागि विद्यालय प्रशासन सधैँ तयार रहेको बताउँदै उनले औपचारिक रूपमा कार्यक्रम अन्त्य गरे।