काठमाडौँ- गत आइतबार हुनुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह र कृषि तथा वन विज्ञान विश्वविद्यालयको ११ दिन देखि रोकिएको परीक्षा सञ्चालन हुन नसकेको भन्दै सांसदहरूले प्रधानमन्त्री विरुद्ध आक्रोश पोखेका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले यी विषयहरूमा गम्भीर आपत्ति जनाएका हुन्।
रास्वपा सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले परीक्षा रोकिँदा १४०० भन्दा बढी विद्यार्थी प्रभावित भएको बताइन्। प्रधानमन्त्री र गृहमन्त्रीको पार्टीको विद्यार्थी संगठन बिचको लडाइँले नेपालमै पढ्छु भन्ने विद्यार्थीले पढ्न नपाएको उनको भनाई छ। श्रेष्ठले विद्यार्थीलाई पढ्न नदिने, परीक्षा समयमा नगर्ने र पास भएपछि दीक्षित हुन नदिने गरिएको भन्दै सरकारको कडा आलोचना गरिन्। उनले सबै तयारी पुरा भएपछि अन्तिम समयमा भ्याउँदिन भनेर दीक्षान्त समारोह रोक्ने प्रधानमन्त्रीको कार्यक्षमतामै प्रश्न उठेको उल्लेख गरिन्। राणा शासनमा समेत एउटा विद्यालय खोलेर पढ्ने वातावरण बनाइएको भन्दै उनले ओली शासनमा अब के हुन्छ हेर्नुपर्ने उल्लेख गरिन्।
त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सबै तयारी पुरा भएर अतिथिहरू समेत पुगिसकेको अवस्थामा दीक्षान्त समारोह रोक्न लगाएर प्रधानमन्त्रीले हुकुमी शासन चलाउन खोजेको आरोप लगाए। उनले पनि काँग्रेस र एमालेका विद्यार्थी संगठनको गतिविधिका कारण परीक्षा प्रभावित बनेको भन्दै आलोचना गरे।