Matra Education आइतबार, साउन १० २०८३

अपेन गोदावरीले सम्पन्न गर्‍यो ‘लिटल जोयफुल जर्नी’ कार्यक्रम

अपेन गोदावरीले सम्पन्न गर्‍यो ‘लिटल जोयफुल जर्नी’ कार्यक्रम

  • मात्र एजुकेशन
  • शनिबार, भाद्र २२ २०८१


काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) को गोदावरी नगर कमिटीको आयोजनामा `लिटल जोयफुल जर्नी´ कार्यक्रम सम्पन्न भएको छ । शनिवार सेन्ट जेभियर्स कलेज जावलाखेलको सभाहलमा आयोजित एक भव्य कार्यक्रमका बिच संस्थाले आफ्ना बालबालिकाहरूको सुन्दर प्रस्तुति उनीहरूको अभिभावकलाई देखाएको हो । बालबालिकाहरूको सर्वपक्षीय विकासका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी उनीहरूको प्रतिभा विकासका लागि काम गर्दै आएको अपेन गोदावरीले यो पटक केही पृथक् गर्ने प्रयास स्वरूप कार्यक्रमको पहिलो संस्करण सम्पन्न गरेको हो।

अपेन गोदावरीका अध्यक्ष पविन जङ्ग थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन रहेका थिए । कार्यक्रममा विशेष अतिथिका रूपमा गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी, शिक्षा शाखा प्रमुख दिनानाथ पन्त र अपेनका केन्द्रीय अध्यक्ष बद्री प्रसाद दाहाल उपस्थित थिए। कार्यक्रममा अतिथिका रूपमा अपेनका केन्द्रीय पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, विभिन्न नगर कमिटीका अध्यक्ष तथा प्रतिनिधिहरू र अन्य विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू रहेका थिए। कार्यक्रममा १७ वटा अपेन सदस्य विद्यालयका ५०० भन्दा बढी बालबालिकाहरू र तिनका अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा अपेन सदस्य विद्यालयका साना बालबालिकाहरूले सुन्दर गायन, फेसन सो तथा नृत्य प्रतिभा प्रस्तुत गरेका थिए। आयोजकले सहभागी सबै विद्यालयलाई मायाको चिनो र विद्यार्थीहरूलाई प्रमाणपत्र सहित सम्मान गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अपेन केन्द्रीय अध्यक्ष दाहालले यस किसिमका कार्यक्रमले बालबालिकाको सर्वपक्षीय विकासका लागि योगदान गर्ने अपेनको उद्देश्यमा सघाउ पुर्‍याउने भन्दै आयोजक प्रति आभार प्रकट गरे । उनले राज्यले बालमैत्री शिक्षा दिने र बाल विकासका कार्यक्रमहरू ल्याउने तर्फ ध्यान दिनुपर्ने उल्लेख गरे । दाहालले साना बालबालिकाको सुन्दर प्रस्तुति देखाउनका लागि मेहनत गर्ने सबैलाई धन्यवाद दिए।

कार्यक्रमका प्रमुख अतिथि महर्जनले बालबालिकाहरूको क्षमता विकासका लागि यस किसिमका कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । बालबालिकालाई खुसी बनाउन र उनीहरूलाई सही बाटो देखाउन शिक्षक र विद्यालयले गरेको प्रयास सराहनीय रहेको बताएका उनले संस्कारयुक्त शिक्षा आजको आवश्यकता भएको बताए। महर्जनले मन्टेश्वरीहरुले बालबालिकालाई विद्यालय तिर आकर्षित गर्न र उनीहरूलाई विद्यालयको बानी लगाउन सघाउ पुर्‍याउँदै आएको धारणा राखे । उनले बालबालिकाको हेरचाह र स्याहारसुसारमा मन्टेश्वरी प्रि स्कुलहरूले उल्लेखनीय योगदान गरेको भन्दै सुन्दर कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए।

कार्यक्रमका सभापति तथा अपेन गोदावरी अध्यक्ष थापाले बालबालिकाको प्रतिभा प्रस्तुत गर्ने अवसरका रूपमा कार्यक्रम आयोजना गरिएको बताए। अपेन गोदावरीले हरेक वर्ष बालबालिकाहरूका लागि प्रतिस्पर्धा रहित कार्यक्रम गर्दै आएको उनले उल्लेख गरे । बालबालिकाको हौसला र आत्मविश्वास बढाउन कार्यक्रमले योगदान गरेकोमा आफू विश्वस्त रहेको भन्दै उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड