Matra Education आइतबार, साउन १० २०८३

शिक्षा क्षेत्रलाई थप सशक्त र उत्पादनशील बनाउन प्रभावकारी समन्वय संयन्त्र निर्माण गर्दै मन्त्रालय

शिक्षा क्षेत्रलाई थप सशक्त र उत्पादनशील बनाउन प्रभावकारी समन्वय संयन्त्र निर्माण गर्दै मन्त्रालय

  • मात्र एजुकेशन
  • बिहिबार, भाद्र ६ २०८१


काठमाडौँ- शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई थप सशक्त र उत्पादनशील बनाउन प्रभावकारी समन्वय संयन्त्र निर्माण गर्न लागेको बताएकी छिन्। मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा देखिएका कमजोरी हटाउन स्थानीय रूपमा क्रियाशील स्थानीय तहहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै छिटै प्रभावकारी अनुगमन र समन्वयका लागि जिल्ला शिक्षा समन्वय इकाई मार्फत कार्यान्वयन हुने गरी बलियो संयन्त्र निर्माणमा मन्त्रालय लागि परेको जानकारी दिइन्।

मन्त्री भट्टराईले सो कुरा मन्त्रालयको विषयगत समितिको बैठकमा बताएकी हुन्। स्थानीय तहलाई प्रदेश र संघ सरकारको तर्फबाट वित्तीय सहयोग नै प्रमुख ठानिँदै आएकोमा, त्यसो मात्र नभएर नीति निर्माण, अनुगमन र समन्वयको विषयमा स्पष्ट मार्गचित्र समेत निर्माणमा मन्त्रालय लागेको भन्दै सहकार्य र समन्वयले बजेटभन्दा महत्त्वपूर्ण काम गर्ने उनले उल्लेख गरिन्।

सहकार्य र समन्वयको प्रभावकारी संस्कृतिको निर्माण गरेर मात्रै उत्कृष्ट नतिजा सम्भव हुने भन्दै भट्टराईले विद्यालय शिक्षा विधेयक सरकारले महत्त्वका साथ लिएको र यसको मस्यौदा माथि छलफल जारी रहेको अवस्थामा सुझाव प्रदान गर्न आग्रह गरिन्। उनले शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन मार्फत अधिकांश समस्या हल हुने दाबी गरिन् ।

बैठकमा विज्ञान प्रविधि ऐनको मस्यौदा निर्माण भइरहेको जानकारी दिँदै, शिक्षकहरूको दरबन्दी मिलाउन सरकार लागेको र शिक्षकलाई जिम्मेवार बनाउने नीतिको खोजीमा सरकार केन्द्रित भएको भट्टराईले बताइन्। हालै सार्वजनिक विभिन्न तहको नतिजाबाट सन्तुष्ट नभएको र शैक्षिक सुधारका निम्ति परीक्षा प्रणाली सहित बाल विकास सबै तहको पाठ्यक्रम र सिकाइ प्रभावकारी बनाउने तर्फ सर्वपक्षीय सहयोग र छलफल आवश्यक भएको मन्त्री भट्टराईको भनाइ थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अध्यक्ष रहने नौ सदस्यीय उक्त समितिको बैठकमा मन्त्रालयले तयार पारेको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना, कक्षा १० र १२ को नतिजा समीक्षा, स्थानीय र प्रदेश तहमा शिक्षा समन्वय समिति, अन्तर तह तथा निकाय समन्वय र विज्ञान तथा प्रविधिका विभिन्न विषयमा छलफल भएको मन्त्रालय स्रोतले बतायो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड