काठमाडौँ- रिलायन्स एजुकेसन नेटवर्कद्वारा आयोजित नमुना संयुक्त राष्ट्रसङ्घको ९ औँ संस्करण रिलायन्स पब्लिक स्कुलको प्राङ्गणमा सुरु भएको छ। बिहीबार विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा ३ दिन सम्म चल्ने उक्त कार्यक्रमको उद्घाटन गरिएको हो।
विद्यालय एवम् विश्वविद्यालय स्तरका बालबालिकाहरूको क्षमता अभिवृद्धि गरी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरूको पहिचान गरी के कसरी समाधान गर्न सकिन्छ ? भनेर बुझ्न बुझाउन रिलायन्स पब्लिक स्कुल नमुना राष्ट्रसङ्घ (आरपीमुन) बनाएर २०१६ सालदेखि अनवरत रूपमा क्रियाशील रहेको कार्यक्रममा जानकारी गराइएको थियो।
रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रबिन्द्र जङ्ग थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि पूर्व आवासीय दूत तथा वरिष्ठ कूटनीतिज्ञ मधुरमण आचार्य प्रमुख अतिथिका रूपमा रहेका थिए। त्यस्तै विशेष अतिथिका रूपमा साहित्यकार तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र संयुक्त राष्ट्रसङ्घ शान्ति तथा निःशस्त्रीकरणका लागि एसिया तथा प्रशान्त क्षेत्रीय केन्द्रका निर्देशक दिपायन वशु रय रहेका थिए। कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालकहरू, प्रशासकहरू, शिक्षक कर्मचारीहरू सहित विभिन्न विद्यालयका प्रतिनिधि शिक्षकहरू, सञ्चारकर्मीहरू तथा विभिन्न विद्यालय बाट प्रतिनिधित्व गर्दै कार्यक्रममा भाग लिन आएका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछानेले स्वागत मन्तव्य राखेका थिए। उनले विद्यार्थीको सर्वपक्षीय विकासका लागि रिलायन्स एजुकेसन नेटवर्कले कम गार्ड आएको र यो कार्यक्रम त्यसैको निरन्तरता भएको बताए। पछिल्लो पुस्तालाई विश्व परिवेश बुझाउन, त्यहाँ आउने समस्याहरू देखाउन र वार्ताका माध्यम बाट त्यसको समाधान खोज्न अग्रसर गराउन कार्यक्रमले अर्थपूर्ण भूमिका खेल्ने उनले बताए।
कार्यक्रम बारे विस्तृत जानकारी गराउँदै नवौँ संस्करणको आरपिमुनका सम्मेलन निर्देशक दिलिप नेपालले तिन दिने सम्मेलन अर्थपूर्ण हुने विश्वास व्यक्त गरे। २०० जना विद्यार्थीहरूलाई ८ वटा विभिन्न कमिटीमा राखेर छलफल गराइने हुँदा आजका चुनौती समाधान गर्न सक्ने उपाय पत्ता लाग्नेछ भन्ने विश्वास आयोजकको रहेको उनले बताए। सन् २०१६ मा नमुना संयुक्त राष्ट्रसङ्घको कार्यक्रम सुरु गरेको स्मरण गर्दै उनले कार्यक्रम उपयोगी हुने देखेर नै कोरोनाको कठिन समयमा पनि जारी राखेको उल्लेख गरे। यस किसिमका कार्यक्रमले सुख, शान्त, समृद्ध र बस्न लायक विश्व बनाउने काममा योगदान गर्ने उनको भनाई थियो।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा आफ्नो भनाई राखेका दिपायन वशु रयले अर्थपूर्ण सम्बोधन गरे। नमुना संयुक्त राष्ट्रसङ्घको कार्यक्रम हुँदै गरेको देखेर खुसी लागेको बताएका उनले आमन्त्रणका लागि आभार प्रकट गरे। स्कुलहरूमा हुने यस्तै ‘मुन’ हरूमा भाग लिँदै जाँदा २५ वाता भन्दा बढीमा सहभागी भएको र त्यसैको जगमा आज साँच्चै संयुक्त राष्ट्रसङ्घमा काम गरिरहेको आफ्नै उदाहरण बाट मन्तव्य सुरु गरेका उनले विद्यार्थीहरूलाई यस किसिमको कार्यक्रममा सक्रिय सहभागिता जनाउन र युएनको स्वयंसेवक बन्ने प्रयास गर्न सुझाए। एसिया प्यासिफिक क्षेत्रको निर्देशकका रूपमा काम गर्दै गर्दा हतियारहरूको प्रयोग, तिनको व्यापार, एआई र प्रविधिको प्रयोग लगायतलाई उत्तरदायी बनाउन आफूहरूले संयुक्त राष्ट्रसङ्घ मार्फत खेलेको भूमिकाको चर्चा गरेका उनले भोलिको भविष्य उपस्थित विद्यार्थीहरूमा देखेर आफू आशावादी बनेको बताए। संयुक्त राष्ट्रसङ्घको स्थापना, विश्व शान्ति र भाइचारा कायम गर्न यसले खेलेको भूमिका र विद्यालय तहमा नमुना संयुक्त राष्ट्रसङ्घको भूमिका बारे सान्दर्भिक चर्चा गरेका उनले सुझबुझ पूर्ण वार्ताले कसरी ठुला ठुला समस्याहरू समाधान हुन्छन् भन्ने उदाहरण समेत प्रस्तुत गरे। उनले विश्वका युद्धग्रस्त मुलुकहरूमा गएर संयुक्त राष्ट्रसङ्घले शान्ति मिसन मार्फत गरेको योगदानको चर्चा गर्दै सबै विद्यार्थीहरूलाई सम्मेलनमा सफल भूमिकाका लागि शुभकामना दिए।
कार्यक्रमका प्रमुख अतिथि आचार्यले यस्ता कार्यक्रमहरूले संयुक्त राष्ट्रसङ्घले काम गर्ने तरिकाहरू बारे विद्यार्थीलाई बुझाउन मद्दत गर्ने धारणा राखे। संयुक्त राष्ट्रसङ्घका लागि काम गर्दा आफूले कम्बोडिया, दक्षिण अफ्रिका, लाइबेरिया र इराकमा गरेको काम, त्यहाँ लिएको अनुभाव र सम्बन्धित ठाउँको समस्या समाधानका लागि संयुक्त राष्ट्रसङ्घले खेलेको भूमिका बारे लामो चर्चा गरेका उनले हामी आफैँ ‘युनाइटेड नेसन्स’ भएको उल्लेख गरे। युएनको वास्तविक सम्मेलन बारे जानकारी गराएका आचार्यले संसारकै समावेशी संस्थाका रूपमा संयुक्त राष्ट्रसङ्घलाई चित्रित गरे। उनले नेपाल जस्तो ठुला देशहरूले घेरिएको राष्ट्रलाई सुरक्षाको प्रत्याभूति समेत संयुक्त राष्ट्र सङ्घले गराउने उल्लेख गरे। संयुक्त राष्ट्रसङ्घका सम्मेलनहरूमा विद्यार्थीहरूले गरेको तयारी लोभलाग्दो हुने गरेको भन्दै उनले त्यही स्तरको ज्ञान प्राप्त गर्न सबै सहभागीहरूलाई शुभकामना दिए।
कार्यक्रममा विभिन्न संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि समितिहरूलाई पिन वितरण पनि गरिएको थियो।
कार्यक्रमका सभापति तथा रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष थापाले आरपिमुन उपस्थित सबैलाई सम्झना लायक क्षण बन्ने बताए। सम्मेलन खाली एउटा शैक्षिक कार्यक्रम मात्रै नभई विश्वका चुनौतीहरू बुझेर सिर्जनात्मक समाधानहरू खोज्ने थलोका रूपमा रहेको उनले बताए । आरपिमुन वास्तविक युएन सेमिनारको सूक्ष्म रूप भएको उल्लेख गरेका उनले बौद्धिक विकास, आलोचनात्मक चेतको विकास र विश्व विकासमा रुचि जगाउन कार्यक्रम सहयोगी हुने धारणा राखे। उपस्थित सबै सहभागीलाई आफ्नो कमिटीमा सफलताको शुभकामना दिएका उनले सहभागीले छलफल गरेर निकाल्ने निष्कर्ष विश्वकै लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
थापाको सम्बोधन पश्चात् औपचारिक कार्यक्रमको सञ्चालिका समेत रहेकी आरपिमुनको नवौँ संस्करणकी महासचिव तृष्णा बजगाईँले औपचारिक उद्घाटन समारोह समापन र नवौँ सम्मेलन सुरुवातको घोषणा गरिन्।
बिहीबार सुरु भएको कार्यक्रम आगामी भदौ १ गतेसम्म सञ्चालन हुनेछ। काठमाडौँ उपत्यका लगायत रुपन्देही, चितवन, धनुषा, नवलपुरका कुल २५ शैक्षिक संस्थाहरूका २०० भन्दा बढी विद्यार्थीहरूले विश्वमा भइरहेका जल्दा बल्दा समस्याको बारेमा छलफल गरी त्यस्ता समस्याको समाधानका उपाय समेत निकाल्ने प्रयास कार्यक्रममा गर्ने रिलायन्स प्रशासन बताउँछ। विद्यार्थीहरूमा कूटनीतिक क्षमताको अभिवृद्धि गरी विज्ञान र प्रविधिले सुशोभित दक्ष नागरिक निर्माण गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा संस्थाको विश्वास रहेको छ।
आगामी भदौ १ गते एक भव्य कार्यक्रमको आयोजना गरी कार्यक्रम समापन गर्ने आयोजकको तयारी छ।