काठमाडौँ- रिलायन्स एजुकेसन नेटवर्कले रिलायन्स पब्लिक नमुना संयुक्त रास्ट्रसंघिय अभ्यास (आरपिमुन) को ९औँ संस्करण आयोजना गर्ने भएको छ। सोमबार रिलायन्स पब्लिक स्कुलमा आयोजित एक पत्रकार सम्मेलनका बिच कार्यक्रम बारे जानकारी गराइएको हो । आगामी साउन ३१ गते देखी भदौ १ गतेसम्म कार्यक्रम आयोजना गरिने जानकारी आयोजकले दिएको छ।
विद्यालय एवम् विश्वविद्यालय स्तरका बालबालिकाहरूको क्षमता अभिवृद्धि गरी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरूको पहिचान गरी के कसरी समाधान गर्न सकिन्छ भनेर बुझ्न बुझाउन आरपिमुन सन् २०१६ सालदेखि अनवरत रूपमा क्रियाशील रहेको कार्यक्रममा जानकारी गराइएको थियो। यस वर्षको आरपिमुनको नारा ‘जहाँ युवा मस्तिष्कहरू वार्ताको लागि भेला हुन्छन्’ राखिएको छ।
सम्मेलनलाई संयुक्त राष्ट्र संघ नेपालले रणनैतिक साझेदारको भूमिकामा रहेर सहयोग गरेको छ। तिन दिने कार्यक्रममा भाग लिनका लागि काठमाडौँ उपत्यका लगायत रुपन्देही, चितवन, धनुषा, नवलपुरका कुल २५ शैक्षिक संस्थाहरूका २०० भन्दा बढी विद्यार्थीहरू आउनेछन् भने सहभागीहरूले नमुना संयुक्त राष्ट्रसङ्घीय ६ वटा समितिहरू तथासंघीय संसद् नेपाल र ऐतिहासिक विपत् समिति गरी ८ वटा समितिहरूमा रहेर छलफल गर्नेछन्।
संयुक्त राष्ट्र संघका लागि पूर्व आवासीय दूत तथा वरिष्ठ कूटनीतिज्ञ मधुरमण आचार्यको प्रमुख आतिथ्य तथा संयुक्त राष्ट्र संघ शान्ति तथा निशस्त्रीकरणका लागि एसिया तथा प्रशान्त क्षेत्रीय केन्द्रका निर्देशक दिपायन वशु रयको मुख्य भाषण यस पटकको आरपिमुनको मुख्य आकर्षणका रूपमा रहेको छ। साथै उद्घाटन सत्रमा नेपालका चर्चित पत्रकार, राजनैतिक विश्लेषक एवं समाजसेवी प्राध्यापक पुरुषोत्तम दाहाल समेत विशेष अतिथिका रूपमा रहनेछन्।
पत्रकार सम्मेलनमा सम्मेलन निर्देशक दिलीप नेपालले कार्यक्रम बारे सम्पूर्ण जानकारी दिएका थिए भने सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिएका थिए। त्यस्तै रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाले नमुना संयुक्त राष्ट्र सङ्घीय अभ्यासको महत्त्व, हालसम्मका उपलब्धि र आगामी योजनाहरू बारे जानकारी गराएका थिए।
नवौँ आरपिमुनको उद्घाटन ३१ गते बिहीबार रिलायन्स पब्लिक स्कुलको सभाहलमा र समापन सोही स्थानमा भदौ १ गते शनिवार गरिनेछ।
