काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तह अध्यापन अनुमति पत्रको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ। आयोगले शनिवार एक सूचना प्रकाशित गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हो।
साउन २६ गते देखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ। उम्मेदवारहरूले आयोगले तोकेको अनलाइन फाराममा भर्नुपर्ने आवश्यक सम्पूर्ण विवरणहरू (नागरिकताको प्रमाणपत्र, हालसालै खिचेको फोटो, दस्तखतको नमुना, न्यूनतम योग्यताको लब्धाङ्क पत्र तथा तालिमको प्रमाणपत्र) भरी सिङ्गल दस्तुरका लागि मिति २०८१।०५।२३ गते रातको १२:०० बजेभित्र र दोब्बर दस्तुरका लागि २०८१।०५।३० गते रातको १२:०० बजेभित्र दरखास्त पेस गर्नुपर्नेछ ।
कसले दिन पाउँछन् आवेदन ?
विद्यमान व्यवस्था अनुसार माध्यमिक तहको अध्यापन अनुमति पत्र प्राप्त गर्नका लागि स्नातक तहको अध्ययन पुरा गरेको हुनुपर्छ। सँगै शिक्षा बाहेक अरू विषय पढेकाले एक वर्षे बिएड समेत गरेको हुनुपर्ने व्यवस्था छ। तर केही विषय अध्ययन गरेकाले श:सर्त (पाँच वर्ष भित्र एक वर्षे बिएड गर्ने गरी) समेत अध्यापन अनुमति पत्र लिन पाइन्छ। तपाईँ सँग निम्न शैक्षिक स्तर पार गरेको प्रमाणपत्र छ भने फाराम भर्न सक्नुहुन्छ।
१) शिक्षाशास्त्र संकाय लिएर कुनै पनि विषयमा स्नातक गर्नुभएको छ भने,
२) बिबिएस, बिबिए, बिएससी, बिए (गणित, अङ्ग्रेजी), कम्प्युटरमा स्नातक, इन्जिनियरिङ अन्तर्गत सिभिल वा इलेकट्रिकल, बाली विज्ञानमा स्नातक आदि।
यदि तपाईँको योग्यता बुँदा न २ अन्तर्गत पर्छ भने तपाईँले श:सर्त अनुमति पत्र प्राप्त गर्न लाग्नुभएको हो र पाँच वर्ष भित्र एक वर्षे बिएड गर्नुपर्नेछ।
