काठमाडौँ- निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै प्रधानमन्त्री ओली विरुद्ध आक्रोश पोखेकी छिन्। बिहीबार सामाजिक सञ्जाल मार्फत उनले विश्वविद्यालयलाई राजनीति मुक्त बनाउने आफ्नै घोषणा बिर्सिएको भन्दै ओलीलाई कटाक्ष गरेकी हुन्।
विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेजमा तपाईँलाई के चित्त बुझेन ? भन्दै उनले प्रश्न पनि गरेकी छिन्। त्रिवि प्राज्ञले भन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ विश्वविद्यालयका कुलपतिले लिएको हुँदा पनि राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुँदैन भन्ने कुरा झनै प्रस्ट पर्ने श्रेष्ठको भनाई छ।
उनले अगाडी लेखेकी छिन्, “अब के हुन्छ? नयाँ नीति तथा कार्यक्रम बनाउने भनेर कति समय झुलाउनु हुन्छ? नझुलाउनको लागि के लेनदेन हुन्छ, कसलाई के पद माग्नु हुन्छ? आखिर विश्वविद्यालय त आफ्नो कार्यकर्ताको गरी खाने भाँडो न हो, अरू प्राध्यापक र विद्यार्थीहरू मूक दर्शक न हुन् हैन त?
स्मरण रहोस् नयाँ नीति तथा कार्यक्रम पास गर्न कति समय लाग्छ, के के हेरफेर हुन्छ हामी हिसाब राख्ने छौँ ।”
प्रधानमन्त्री कुलपति रहन आवश्यक छैन भनेर ओली आफैले केही वर्ष अगाडी दिएको अभिव्यक्ति पनि श्रेष्ठले स्मरण गरेकी छिन्।
