Matra Education आइतबार, साउन १० २०८३

कक्षा ११ का लागि टेक्सास इन्टरनेसनल कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

कक्षा ११ का लागि टेक्सास इन्टरनेसनल कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • मंगलबार, साउन १५ २०८१


काठमाडौँ- चाबहिलको टेक्सास इन्टरनेसनल कलेजले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलवार चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित एक भव्य कार्यक्रमका बिच कलेजले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई कलेजको विविध पक्षहरू बारे जानकारी गराएको हो । कार्यक्रममा विद्यार्थीका प्रतिभाले भरपुर अनौपचारिक कार्यक्रम र अभिमुखीकरण सहितको औपचारिक कार्यक्रम मुख्य आकर्षणका रूपमा रहेका थिए ।

टेक्सास इन्टरनेसनल कलेजका अध्यक्ष भेस राज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रसिद्ध सञ्चारकर्मी भूषण दाहाल र विशेष अतिथिका रूपमा प्रहरी वृत्त गौशालाका डिएसपी केशव कुमार थेबे रहेका थिए। कार्यक्रममा अतिथिका रूपमा उत्प्रेरक वक्ता डा. रविन कटुवाल सहित अन्य प्रतिष्ठित व्यक्तित्वहरू रहँदा टेक्सास कलेजका चिफ अफ एकेडेमिक्स प्रा. डा. गोविन्द प्रसाद आचार्य, प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु सहित अन्य प्रशासकहरू, विभिन्न विभागका विभाग प्रमुखहरू तथा अध्यापकहरूको उपस्थिति थियो। कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थी सहित अन्य प्राज्ञिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।

स्वस्ति वाचन बाट सुरु भएको कार्यक्रममा गायन, नृत्य सहित अन्य विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू समावेश थिए। कार्यक्रम सञ्चालक तथा टेक्ससका एकेडेमिक कोअर्डिनेटर अग्नि लुइँटेलले  कलेजको बारेमा विद्यार्थीलाई जानकारी गराउँदै कलेजमा रहुन्जेल पाउने सेवा सुविधा र पालना गर्नुपर्ने नियमहरूका बारेमा जानकारी गराएका थिए। सँगै अध्यापक परिचय कार्यक्रम पनि राखिएको थियो।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै टेक्सास इन्टरनेसनल स्कुलका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले टेक्सासले आफ्नो नारा जस्तै विद्यार्थीलाई पूर्ण मानव बनाउने बताए। आध्यात्मिक रूपमा सचेत, तीक्ष्ण विवेकी र सिपयुक्त विद्यार्थी उत्पादन गर्नु आफूहरूको लक्ष्य रहेको बताएका उनले मन्टेश्वरी देखि मास्टर्स सम्मकै शिक्षाको लागि संस्था प्रसिद्ध रहेको उल्लेख गरे। श्रेष्ठले कुनै विषयको छनोटले विद्यार्थीलाई सफल बनाउने नभई आफ्नो मेहनत र त्यो विषय प्रतिको धारणाले सफल बनाउने उल्लेख गरे। उनले सङ्गत गुनाको फल हुने स्मरण गराउँदै उपयुक्त व्यक्तिको मात्रै निकट रहन सुझाव दिए। श्रेष्ठले सबै विद्यार्थीको आगामी शैक्षिक यात्रा सफल रहोस् भन्ने शुभकामना दिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कलेजका सह-प्रधानाध्यापक युवराज बस्नेतले कार्यक्रम र कलेज बारे जानकारी गराए। उनले कक्षा सुरु भए पछि के गर्ने ? के नगर्ने ? सहित समग्र पक्षहरूको जानकारी दिए। कार्यक्रम आयोजना गरिएको ‘स्मार्ट प्यालेस’ को नाम जस्तै स्मार्ट हुन विद्यार्थीहरूलाई उनको सुझाव थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका चिफ अफ एकेडेमिक्स प्रा. डा. आचार्यले विद्यार्थीहरूलाई माध्यमिक शिक्षा परीक्षा पछिको शैक्षिक यात्रा अगाडी बढाउने सन्दर्भमा महत्त्वपूर्ण सुझावहरू दिए। उनले आधा भन्दा बढी विद्यार्थी असफल भएको परीक्षामा सफलता हात पारेर टेक्सास जस्तो संस्थामा अध्ययन गर्न पाउनु गौरवको कुरा भएको भन्दै बधाई दिए। नयाँ अवधारणा खोज्ने र सिकाइका लागि उत्सुक हुने विद्यार्थीलाई टेक्सासले सधैँ सम्मान गर्ने उल्लेख गरेका आचार्यले संसारका सबै सफल मानिसहरूमा अध्ययन गर्ने साझा बानी हुन्छ भन्ने बुझेर पढ्न सुझाव दिए।

टेक्सासमा कक्षा १२ अध्ययनरत विद्यार्थीहरूले पनि कार्यक्रममा आफ्नो अनुभव बाडेका थिए। उनीहरूले टेक्सास आफ्ना विद्यार्थीको सर्वपक्षीय विकास गर्ने र अपेक्षा पुरा गर्न सक्ने शैक्षिक संस्था भएको धारणा राखे।

कार्यक्रममा विशेष प्रस्तुति दिँदै विद्यार्थीलाई उत्प्रेरणा तथा परामर्श प्रदान गरेका उत्प्रेरक वक्ता डा. कटवालले तारिफयोग्य प्रस्तुति दिएका थिए। जीवनमा सफल हुन र संसार जित्न चाहिने हिम्मतका लागि उत्प्रेरणा प्रदान गरेको बताउने कटवालले पनि प्लस टु मध्य उत्कृष्ट कलेजमा भर्ना पाएको भन्दै विद्यार्थीलाई बधाई दिएका थिए । उनले शान्त बन्ने, विकल्प नभएको चिज बन्ने व्यक्ति नै सफल हुने धारणा राखेका थिए । धैर्यता नै विद्यार्थीका लागि अपरिहार्य तत्त्व भएको हुँदा जीवनमा धैर्यता नगुमाउन उनले विद्यार्थीलाई सुझाव दिए। थुप्रै कठिनाइ र चुनौती पार गर्दै आफ्नो क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरूको प्रशस्त उदाहरण अनि उनीहरूको सङ्घर्ष अनि सफलताको कथा प्रस्तुत गरेका कटवालले विद्यार्थीहरूलाई नयाँ ऊर्जा प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि दाहालले कार्यक्रममा बस्दै गर्दा आफ्नो विद्यार्थी जीवनको सम्झना भएको बताए। आफू विद्यार्थी हुँदा पढाइको अवसर पाउन गाह्रो रहेको भए पनि आफू सीमित केही भाग्यमानी भित्र परेकाले स्कुल जान पाएको स्मरण गरे। शिक्षा, जीवन, सङ्घर्ष र सफलताको सम्बन्धको विश्लेषण गरेका उनले जीवनका हरेक उतारचढावहरूमा सम्हालिन सक्नुपर्ने धारणा राखे । आफूलाई अभिभावकले डाक्टर पढाउनका लागि विज्ञान संकायमा भर्ना गरिदिएको भए पनि आफूलाई त्यता रुचि नभएर आजको कर्ममा लागेको र त्यसैले सन्तुष्टि दिएको उनले उल्लेख गरे। अध्ययनका लागि विदेश जानेहरूको आलोचना गर्ने गरिएको भन्दै उनले आफूले भने विदेश जानेलाई प्रोत्साहन नै गर्ने तर त्यहाँ गैर काम गर्ने नभई पढ्ने काम गर्नुपर्ने भनाई राखे। अध्ययन पुरा गरेर, सिप सिकेर मात्रै काममा लाग्दा हुने फाइदाका बारेमा पनि उनले चर्चा गरे।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति पोखरेलले आफ्ना विद्यार्थीलाई एसइई सम्मको सफलताको लागि बधाई र आगामी दिनका लागि शुभकामना दिए। टेक्सास छनोट गरेर विद्यार्थीहरूले आफूहरू अब्बल छौँ भनेर प्रमाणित गरिसकेको उल्लेख गरेका उनले विद्यालय जाने उमेर समूहका नौ लाख विद्यार्थी स्कुल बाहिर रहेको अवस्थामा पढ्न पाएको हुँदा ती विद्यार्थी भाग्यमानी भएको टिप्पणी गरे। पोखरेलले कलेज भित्र पालना गर्नुपर्ने नियम, टेक्ससले हालसम्म प्राप्त गरेको सफलता र आगामी योजनाको बारे पनि चर्चा गरेका थिए।

कार्यक्रमका तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड