काठमाडौँ- सरस्वतीनगर चाबहिल स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले कक्षा ११ का नव आगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित भव्य कार्यक्रमका बिच संस्थाले नयाँ भर्ना भएका विद्यार्थीलाई कलेज बारे जानकारी गराएको हो । विद्यार्थीले पालना गर्नुपर्ने नियमहरू, कलेजका विभिन्न गतिविधिहरू, शैक्षिक योजनाहरू र सफलताका बारे जानकारी सहितको औपचारिक सत्र र रिलायन्सका प्रतिभाशाली विद्यार्थीका प्रतिभाले भरपुर अनौपचारिक सत्र कार्यक्रमको आकर्षणका रूपमा रहेका थिए।
रिलायन्स इन्टरनेसनल एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जङ्ग थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कलेजका बोर्ड सदस्य तथा चार्टर एकाउन्टेन्ट राजु कुमार सिवाकोटी, सहायक प्रधानाध्यापक नन्दु कुशवाह सहित नेटवर्क आबद्ध विभिन्न विद्यालयका प्रधानाध्यापकहरू उपस्थित थिए। कार्यक्रममा विभिन्न क्षेत्रका अतिथिहरू सहित रिलायन्सका प्रशासक, शिक्षक, शिक्षिका, कर्मचारी तथा कक्षा १२ अध्ययनरत र कक्षा ११ भर्ना भएका विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
रिलायन्स इन्टरनेसनल एकेडेमीका अङ्ग्रेजी विभाग प्रमुख तथा इसिए संयोजक गोविन्द ढकालको कुशल कार्यक्रम सञ्चालनले कार्यक्रमलाई अर्थपूर्ण बनाएको थियो। उनले नव आगन्तुक विद्यार्थीहरूलाई कक्षाकोठाका मान्यताहरू, शैक्षिक योजनाहरू र कलेजको इतिहास बारे जानकारी गराए ।
संस्कार र संस्कृतिलाई प्राथमिकतामा राखेको रिलायन्सले स्वस्ति वाचन मार्फत कार्यक्रम सुरु गरेको थियो । नेपाल वेद विद्याश्रमका बटुकहरूले रिलायन्सका लागि सो कार्य गरेका थिए। लगत्तै दुई मिनेटको ध्यान बाट कार्यक्रममा उपस्थित सबैलाई शान्त र केन्द्रित बनाइएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै रिलायन्सका सहायक -प्रधानाध्यापक नन्दु कुशवाहले सबै विद्यार्थीलाई रिलायन्सको सिकाइ संसारमा स्वागत गरे। आशा र सपनाहरू पूरा गर्ने ठाउँका रूपमा संस्था स्थापित रहेको भन्दै उनले रिलायन्सका पाँच मान्यताहरूको चर्चा गरे। परीक्षाहरू र कलेज भित्र हुने अन्य विविध गतिविधिहरूको जानकारी दिएका उनले आफ्ना विद्यार्थीलाई प्राज्ञिक, सामाजिक र संवेगात्मक रूपमा उत्कृष्ट बनाउनु रिलायन्सको उद्देश्य भएको उल्लेख गरे। कुशवाहले कलेजलाई सुरक्षित र खुसी ठाउँ बनाउने, दुई वर्षमा आफ्ना विद्यार्थीहरूलाई अन्य संस्थामा पढ्ने समकालीन विद्यार्थी भन्दा उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा कक्षा ११ पढाउने फ्याकल्टीहरूको परिचय समेत विद्यार्थीहरू माझ गराइएको थियो। त्यस्तै रिलायन्समा सक्रिय विभिन्न विद्यार्थी क्लबहरूको बारेमा पनि कार्यक्रममा जानकारी गराइएको थियो।
कक्षा १२ मा अध्ययनरत संगम कार्कीले आफू हिजो मात्रै त्यो स्वागत हुने ठाउँमा बसेको जस्तो लागेको बताइन् । जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा रिलायन्समा भर्ना भएका विद्यार्थीहरूले ज्ञान र शिक्षाको नयाँ संसारमा प्रवेश गर्न लागेको उनको भनाई थियो। कलेजमा सैद्धान्तिक ज्ञानमा मात्रै नभई प्रयोगात्मक पद्धतिलाई पनि उतिकै प्राथमिकतामा राखिने, विद्यार्थीको सर्वपक्षीय विकासका लागि काम गरिने भएको हुँदा रिलायन्स आफूलाई अर्को घर हो भन्ने महसुस हुने उनले बताइन् । आफ्ना विद्यार्थीहरूको सिकाइका लागि प्रतिबद्ध अध्यापकहरू, भौतिक दुनियाँ बाट बाहिर निकालेर आफूलाई चिन्ने मौका दिन ध्यान लगायत थुप्रै विशेषताहरू बोकेको रिलायन्समा जीवनभरका लागि अविस्मरणीय क्षण बन्न सक्ने उनको भनाई थियो।
कक्षा ११ का नव आगन्तुक विद्यार्थीका तर्फबाट धन्यवाद ज्ञापन गर्दै छात्रा रेबिका श्रेष्ठले आफूले थुप्रै दुबिधा पश्चात् रिलायन्स छानेको र यो छनोट जीवनकै सबैभन्दा उत्कृष्ट छनोट भएको महसुस गरिरहेको बताइन् । उनले रिलायन्सले पढाई मात्रै नभई मानवीय मूल्य देखि विभिन्न क्रियाकलापहरू समेत विद्यार्थीलाई गराउने हुँदा त्यसैले आफूलाई आकर्षित गरेको भनाई राखिन्।
कलेजका बोर्ड सदस्य तथा चार्टर एकाउन्टेन्ट राजु कुमार सिवाकोटीले ६५ भन्दा बढी जिल्ला र ३०० भन्दा बढी स्कुलहरू बाट कक्षा ११ भर्ना हुन आएका सबै विद्यार्थीलाई रिलायन्समा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । करियर बनाउने तहमा आइपुगेका विद्यार्थीले एसइईमा आएको स्कोर पछि घट्ने परिपाटीको अन्त्य गर्न सक्नुपर्ने उनको सुझाव थियो। आजको २१ औँ शताब्दीको प्रतिस्पर्धात्मक विश्व बजारमा बिक्न सक्ने जनशक्ति बन्ने गरी मेहनत गर्न सुझाएका उनले रिलायन्सको नतिजा आजसम्म सधैँ उत्कृष्ट रहेको र त्यो कायम राख्नुपर्ने चुनौती पनि सँगै रहेको उल्लेख गरे। रिलायन्स बाट अध्ययन सकेर सफलता हात पारेका विद्यार्थीहरूको चर्चा गरेका उनले आगामी दिनमा सबै विद्यार्थीलाई त्यस्तै सफल भएको देख्न पाउँ भन्ने कामना गरे ।
कार्यक्रम अवधिभर विद्यार्थीले प्रस्तुत गरेका गायन, नृत्य, कविता, मन्तव्य सहितका गतिविधिहरू वास्तवमै रोचक र उत्कृष्ट थिए।
कार्यक्रम समापन गर्दै सभापति थापाले २२ औँ ब्याचलाई रिलायन्स परिवारको तर्फबाट स्वागत र सही छनोट गरेकोमा धन्यवाद दिए । अभिमुखीकरण बाट प्लस टुको औपचारिक यात्रा सुरु हुने हुँदा विद्यार्थीको शैक्षिक यात्रा कता जाँदै छ र के के गर्दैछौं भन्ने जानकारी दिन कार्यक्रम आयोजना गरिएको उनले बताए। विद्यार्थीले जे विषय छानेको भए पनि त्यसमा उत्कृष्ट बन्ने गरी लाग्नुपर्ने धारणा राखेका उनले दुई वर्ष विद्यार्थीको भविष्यको लक्ष्य प्राप्तिका लागि तयारी गर्ने समय भएको उल्लेख गरे। कलेजले त्यो भविष्य निर्माणको मार्गचित्र र आधार दिने दाबी गरेका उनले आफूहरू २१ वर्ष अघि देखि निरन्तर उत्कृष्ट प्लस टु को परिचय कायम राख्न सफल भएको पनि बताए। रिलायन्सका सबै विद्यार्थी विश्व स्तरमा प्रतिस्पर्धा गर्न लायक नागरिक बन्नुपर्ने र त्यस क्रममा विद्यार्थीले आमा, बुबा र गुरुलाई आदर सत्कार र धन्यवाद भन्न सक्नुपर्ने उनको भनाइ थियो। थापाले विद्यार्थीहरू संसारका जुनसुकै देश पुगे पनि त्यहाँ ज्ञान, सीप र दक्षता हासिल गरेर नेपाल फर्किनुपर्ने धारणा राखे। उनले जीवनमा सफल हुने विभिन्न सिद्धान्तहरू बारे चर्चा गर्दै सबै विद्यार्थीलाई आगामी शैक्षिक यात्रा सफलताको शुभकामना दिँदै कार्यक्रम अन्त्य गरे ।