काठमाडौँ- मलिन मिडियाले आयोजना गरेको पाँचौँ ‘मलिन स्पेल बि प्रतियोगिता’ को उपाधि रिलायन्स कलेजमा अध्ययनरत छात्रा छिरिङ केसाङ शेर्पाले जितेकी छिन्। कान्तिपुर टेलिभिजनमा विगत ७ महिनादेखि प्रत्येक बुधवार बेलुकी ९ बजेदेखि १० बजे सम्म प्रसारण हुँदै आएको उक्त कार्यक्रममा सहभागी करिब ९०० कलेजका प्रतिस्पर्धीलाई पछि पार्दै शेर्पाले उपाधि चुमेकी हुन्। उपाधि जिते सँगै शेर्पाले नगद रु तीन लाख पुरस्कार जितेकी छिन् ।
आयोजकले देशभरि रहेका कलेजहरूको प्राङ्गणमा पुगेर प्रतियोगीहरू छनौट गरेको थियो । उक्त प्रतियोगिता चर्चित पत्रकार भूषण दाहालले सञ्चालन गर्दै आएका थिए।
कलेजले उपाधि जिते पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै रिलायन्स कलेजका प्राचार्य रविन्द्र जंग थापाले विद्यार्थीहरूको आन्तरिक प्रतिभालाई प्रस्फुटन गराउन नियमित अतिरिक्त क्रियाकलाप गराउँदै आएकोले यस्ता ठुला प्रतियोगितामा रिलायन्स कलेज सधैँ नै अब्बल रहने गरेको बताए। उनले कक्षामा सधैँ प्रथम हुने छिरिङ केसाङ शेर्पाको यो ऐतिहासिक जितले रिलायन्स कलेजको प्रतिष्ठामा एउटा अर्को इँटा थपिएको प्रतिक्रिया दिए ।
रिलायन्स कलेजका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख गोविन्द ढकालका अनुसार कलेजले वर्षभरि गरिने अतिरिक्त क्रियाकलापको तालिका नै बनाएर नियमित र निरन्तर कार्यक्रमहरू गर्दै आएको छ। यस्ता नियमित गरिने क्रियाकलापहरूकै कारण हरेक प्रतियोगितामा कलेजलाई सफलता प्राप्त हुँदै आएको छ ।
मलिन मिडियाका प्रबन्ध निर्देशक महेश पोखरेलका अनुसार छिट्टै औपचारिक कार्यक्रम आयोजना गरेर विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरिने छ।

