Matra Education आइतबार, साउन १० २०८३

कसरी छान्ने उत्कृष्ट प्लस टु कलेज ? यी कुराहरू ध्यान दिनुहोस्

कसरी छान्ने उत्कृष्ट प्लस टु कलेज ? यी कुराहरू ध्यान दिनुहोस्

  • मात्र एजुकेशन
  • मंगलबार, असार २६ २०८१


काठमाडौँ- यतिबेला माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका नेपाली विद्यार्थीहरू आफ्नो अघिल्लो तहको अध्ययनका लागि उपयुक्त शैक्षिक संस्थाको खोजीमा छन्। विशेषतः नेपाली शिक्षा प्रणालीमा माध्यमिक तहअघिको पढाइमा एकरूपता हुने र विद्यार्थीले ठुलो छनोट गर्नु नपर्ने कारण पनि त्यसपछिको छनोट महत्त्वपूर्ण हुन्छ। एउटा व्यक्तिको करियरको प्रवेशद्वार मानिने +२ पढ्नुअघि यदि उपयुक्त विषय र क्याम्पस छान्न सकिएन भने त्यसको असर जीवनभर रहन सक्छ। त्यसैले आज हामीले उपयुक्त कलेजको छनोट कसरी गर्ने भन्ने विषयमा यो सामग्री तयार पारेका छौ।

कलेज छनोट आफैमा एउटा महत्त्वपूर्ण निर्णय भएको हुँदा आफूले छानेको कलेज के के कुराले उत्कृष्ट छ भन्ने कुरा पनि फरक हुन सक्छ। विशेष गरी विद्यार्थीलाई आकर्षित गर्न सक्ने र अपेक्षित नतिजा दिन सक्ने कलेज सबैको रोजाइमा पर्दछ। तपाईँ निम्न साधारण विषयहरूको अध्ययन गरी आफूलाई उपयुक्त कलेज छनोट गर्न सक्नुहुन्छ।

१) आफूले अध्ययन गर्न चाहेको विषय छान्नुहोस्

कलेजको छनोट गर्नु पूर्व तपाईँले आफू कुन विषय पढ्ने हो त्यो निर्णय गर्नुपर्छ। यही निर्णयले तपाईँलाई कस्तो कलेज छान्ने र आफूलाई कस्तो कलेज उपयुक्त हुन्छ भन्ने कुरा निर्धारण गर्न सहयोग पुर्याउछ । तपाईँले आफ्नो रुचिको फरक विषय पढाइ हुने कलेज पनि पत्ता लगाउन सक्नुहुन्छ।

२) कलेजको उक्त विषयको पुराना नतिजा चेक गर्नुहोस्

तपाईँले विषयको छनोट गरिसकेपछि उक्त विषयमा तपाइले पढ्न चाहेको कलेजको पुराना नतिजाहरू चेक गर्नुभयो भने तपाईँलाई त्यो कलेजको प्रारम्भिक जानकारी प्राप्त हुनेछ। साथै यो चरणमा तपाइले उक्त कलेजको विभागहरू र पठनपाठन शैलीको पनि परीक्षण गर्न सक्नुहुनेछ।

३) कलेजको वातावरण र भौतिक पूर्वाधार हेर्नुहोस्

कुनै पनि कलेजको वातावरण र भौतिक पूर्वाधारले त्यहाँ तपाईँको सिकाइ प्रक्रिया कस्तो हुनेछ भन्ने कुरा निर्धारण गर्दछ। यसको मतलब तपाईँले बाहिरबाट हेर्दा राम्रो कलेज नै छनोट गर्नुपर्छ भन्ने होइन तर तपाईँलाई कुनै विषयको ज्ञान दिन सक्ने आवश्यक न्यूनतम पूर्वाधारको व्यवस्था चाहिँ हुनुपर्छ भन्ने हो। उदाहरणका लागि तपाईँ विज्ञान पढ्न चाहनुहुन्छ भने व्यवस्थित विज्ञान प्रयोगशाला भएको र त्यही अनुसारको वातावरण बनाउन सक्ने कलेज छान्नुपर्छ।

४) विश्वविद्यालयको सम्बन्धन र प्राध्यापकहरू

कलेजले कुन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। नेपालको सन्दर्भमा नेपाली र विदेशी दुवै विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरेका कलेजहरू छन्। तुलनात्मक रूपमा नेपाली विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरू नै उत्तम मानिन्छ । यो सँगै तपाइले उक्त कलेजमा प्राध्यापन गर्ने प्राध्यापकहरूको पृष्ठभूमि कस्तो छ र त्यहाँको एकेडेमिक टिम कस्तो छ भन्ने पनि बुझ्नुपर्छ।

५) कलेज शुल्क तथा छात्रवृत्ति

आम नेपाली विद्यार्थी तथा अभिभावकहरूमा चिटिक्क परेको भौतिक संरचना र महँगो शुल्क भएको कलेज राम्रो हुन्छ भन्ने गलत बुझाइ छ। धेरै शुल्क हुँदैमा कलेजको पढाइ राम्रो स्तरको हुन्छ भन्ने छैन । आर्थिक रूपमा आफूलाई सहज हुने खालको कलेज छनौट गर्नु पर्छ । त्यसका लागि तपाईँले आफूले पढ्न चाहेको कोर्सका लागी कति तिर्न सक्ने हो अनि कलेजले त्यतिमा पढाउन सक्ने हो/होइन निर्क्योल गर्नुपर्छ। साथै कलेजले के–कस्ता छात्रवृत्ति प्रदान गर्दछ भन्ने विषयमा हेक्का राख्नु पर्छ । यसले आर्थिक भार कम हुन्छ र व्यक्तित्व निर्माणमा पनि सहयोग गर्दछ ।

६) खोज तथा अनुसन्धान

आजको शिक्षामा खोज तथा अनुसन्धानको भूमिका ठुलो रहेको छ। यसले विद्यार्थीलाई उनीहरूको ज्ञान बढाउने मात्रै होइन बौद्धिक तथा चौतर्फी विकासमा सहयोग पुर्याउछ। साथै भावी जीवनमा आइपर्ने समस्याहरूमा कसरी समाधान खोज्ने भनेर तयार गराउँछ। त्यसैले तपाइले पढ्न चाहेको कलेजले खोज तथा अनुसन्धानमा के कति प्राथमिकता दिएको छ र के–कस्ता कुराहरूमा अनुसन्धान गरेको छ भन्ने जानकारी लिन आवश्यक हुन्छ।

७) कलेज सञ्चालक तथा संयोजकको पृष्ठभूमि

हिजोआज शिक्षा क्षेत्र सेवामुखी मात्रै नभई व्यावसायिक पनि भएको छ। शिक्षा क्षेत्रलाई बुझेका र यसमै भिजेका बाहेकले पनि कलेज सञ्चालन गर्ने ट्रेन्ड बढेको छ। कलेज सञ्चालन निकै चुनौतीपूर्ण हुने भएकाले कलेजका सञ्चालक तथा संयोजक कस्तो पृष्ठभूमिका छन् भन्ने कुराको हेक्का विद्यार्थीले राख्नुपर्दछ । यसले कलेजमा आउने अप्ठेरोहरूलाई भविष्यमा सहज सामना गर्न सक्ने छ कि छैन, कलेज राम्रोसँग सञ्चालन गरिरहेको छ कि छैन, तिनीहरूको अनुभव के कस्तो छ, साथै सञ्चालक कुन क्षेत्रबाट आएको हो जस्ता विषयको जानकारी तपाईँलाई गराउँछ र आफूले छान्न लागेको कलेजप्रति निर्धक्क बनाउँछ।

८) तालिम, गोष्ठी तथा सेमिनार

तालिम, गोष्ठी तथा सेमिनार जस्ता कार्यक्रमहरूले विद्यार्थीको व्यावसायिक सोचलाई वृद्धि गर्दछ । यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको पढाई तथा कार्यहरूमा थप ऊर्जा प्रदान गर्दछ । त्यसैले कलेजले यस्ता कार्यक्रमलाई कत्तिको प्राथमिकता दिएको छ, त्यो बुझ्न आवश्यक छ ।

९) अन्य पक्षहरू:

उल्लिखित तत्त्वहरूका अलावा पनि एउटा कलेजलाई नतिजामुखी बनाउने अन्य धेरै विषयहरू हुन्छन्। तपाईँ आफ्नो रुचि र प्राथमिकतामा पर्ने विषयमा बढी ध्यान केन्द्रित गरेर कलेज छनोट गर्नुभयो भने पक्कै सोचे अनुसारको कलेज छनोट गर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड