Matra Education आइतबार, साउन १० २०८३

एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीहरूलाई जिएलएले दियो जनही ५० हजार पुरस्कार

एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीहरूलाई जिएलएले दियो जनही ५० हजार पुरस्कार

  • मात्र एजुकेशन
  • सोमबार, असार २५ २०८१


काठमाडौँ- माकलबारी स्थित गोकर्णेश्वर लाइट एकेडेमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए प्राप्त गर्ने विद्यार्थीहरूलाई नगद रु ५०,००० सहित सम्मान गरेको छ । गत शुक्रवार जोरपाटी स्थित छिमेकी पार्टी प्यालेसमा आयोजित एसइई सम्मान कार्यक्रममा विद्यालयले ४ जिपिए प्राप्त गर्ने ३ जना छात्राहरूलाई जनही ५०,००० का दरले पुरस्कृत गरेको हो। विद्यालय बाट एसइई २०८० मा प्रीति पौडेल, एलिसा राउत र सुजाता चालिसेले ४ जिपिए प्राप्त गरेका थिए।

कुल ३६ जना विद्यार्थीले उक्त परीक्षा दिएकोमा तीन जनाले ४ जिपिए, एक जनाले ३.९६, एक जनाले ३.९५ र चार जनाले ३.९१ जिपिए प्राप्त गरेका छन् । सर्वोत्कृष्ट नतिजा हासिल गरेको उक्त विद्यालयको यो पटकको सबैभन्दा कम नतिजा नै ३.४८ जिपिए रहेको विद्यालयले जनाएको छ।

एसइई सम्मान कार्यक्रममा विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गर्ने सबै विद्यार्थीलाई सम्मान गरेको थियो। विद्यालय बाट टिका, खादा र मायाको चिनो सहितको सम्मान प्राप्त गरेपछि विद्यार्थीहरूले विद्यालयलाई धन्यवाद दिए। ४ जिपिए ल्याउने तिनै जना छात्राहरूले विद्यालयले दिएको उत्प्रेरणा र शैक्षिक वातावरणमा आफ्नो मेहनत मिसिदा सफल हुन सकिएको प्रतिक्रिया दिए । उनीहरूले जिएलए आफ्नो क्षेत्रकै सर्वोत्कृष्ट विद्यालय भएको बताए।

विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मण आचार्यको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा प्रतिनिधिसभाका अर्थ समिति सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान गोकर्णेश्वर नगरपालिका वडा -४ का वडाध्यक्ष जयराम महत, विद्यालयका प्रधानाध्यापक सौर्यनाथ आचार्य, विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने आमन्त्रित अतिथि लगायत विद्यार्थी, अभिभावक, शिक्षक/शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै विद्यालयका प्रधानाध्यापक सौर्यनाथ आचार्यले विद्यालय यो पटक गोकर्णेश्वर नगरपालिकामा प्रथम हुँदै काठमाडौँ जिल्लाभित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालयभित्र परेको बताए। उनले विद्यार्थीहरूले १३ वर्षदेखिको मेहनतको फल प्राप्त गरेको भन्दै उत्कृष्ट नतिजा हासिल गर्न मेहनत गर्ने विद्यार्थी, शिक्षक/ शिक्षिका, अभिभावक सबैलाई धन्यवाद दिए। नगद पुरस्कार तथा सम्मानले विद्यार्थीको मेहनतलाई आदर गर्ने र अन्य विद्यार्थीहरूलाई समेत मेहनत गर्न प्रोत्साहन गर्ने धारणा राखे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड