काठमाडौँ- त्रि–ज्योति मा.वि.मा कक्षा नौ मा अध्ययनरत छात्र हिमाल दाहालले प्रदेश खेलकूद विकास बोर्ड कोशी प्रदेशद्वारा आयोजित कोशी प्रदेश स्तरीय खुल्ला पौडी प्रतियोगितामा विभिन्न इभेन्टसमा प्रथम स्थान प्राप्त गरेका छन् ।
कोशी प्रदेशका सामजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्य एवम् कोशी प्रदेश पौडी संघका अध्यक्ष डम्बरबहादुर तामाङको सभापतित्वमा आयोजित उक्त प्रतियोगितामा चौध जिल्लाबाट सहभागी भएका दुई सय पौडी खेलाडीहरुलाई पराजित गर्दै हिमाल दाहालले पाँच स्वर्ण र एक रजत पुरस्कारको साथमा रु पचास हजार नगद प्राप्त गरे । ओखलढुङ्गा जिल्लाबाट सहभागी भएका दुई खेलाडीमध्ये दाहाल एक्लैले ओखलढुङ्गा जिल्लालाई प्रथम स्थान दिलाउन सफल भए ।
कोशी प्रदेश, खेलकुद विकास बोर्डद्वारा आयोजित उक्त प्रतियोगितामा १०० मिटरमा प्रथम, ५० मिटरमा प्रथम, ५० मिटर ब्रेकस्ट्रोकमा प्रथम, १०० मिटर ब्रेकस्ट्रोकमा प्रथम, १०० मिटर बटरफ्लाईमा प्रथम र ५० मिटर फेसस्टाइलमा द्वितीय स्थान प्राप्त गरी त्रि–ज्योति मा.वि.को ‘जीवनोपयोगी शिक्षाः त्रि–ज्योतिको इच्छा’ अभियानलाई व्यवहारमा उतार्न सकिएको भन्दै अभिभावक, खेलाडी, विद्यार्थी र आयोजक कोशी प्रदेशलाई विद्यालयका प्राचार्य गणेशकुमार मिश्रले धन्यवाद दिए ।
कक्षा नौ मा अध्ययनरत छात्र दाहाल प्रतिभाशाली विद्यार्थी भएको र भोलिका दिनमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराएर सफल पौडी खेलाडी निर्माण गर्नमा कुनै कसर नराख्ने विश्वाससहित विद्यालयको मैदानमा प्राचार्य गणेशकुमार मिश्र, विद्यालय संयोजक प्रवीन श्रेष्ठ र तहगत इन्चार्ज अन्जु लामाले सम्मान एवम् बधाई व्यक्त गरे ।