काठमाडौँ- काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन भर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ।
शुक्रवार एक सूचना जारी गर्दै महानगरपालिकाले काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने हुँदा आवेदन माग गरिएको जनाएको हो। महानगरपालिकाको वेबसाइट वा entrance kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।
२०८१ असार १५ गते बिहान १०:०० बजेदेखि २०८१ असार २९ गते शनिवार राती ११:५९ बजेसम्म फारम भर्न सकिनेछ भने २०८१ श्रावण ४ गते बिहान ०८:०० बजेदेखि १०:०० बजेसम्म परीक्षा सञ्चालन हुनेछ। महानगरले छात्रवृत्तिको नतिजा प्रकाशन भएपश्चात् मात्र विद्यार्थी भर्ना हुन पनि सम्बन्धित विद्यार्थीहरूमा अनुरोध गरेको छ।
