काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । पहिलो पटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार सार्वजनिक गरिएको नतिजामा आधा भन्दा बढी परीक्षार्थी ननग्रेड भएका छन्।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । तिनीहरू मध्ये एक सय ८६ जनाले ४ जिपिए ल्याएका छन् ।
परीक्षामा सहभागी भएकामध्ये ५२. १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरूले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको छ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै नतिजा प्रकाशित गरिएको बताए । यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिएको हो ।
गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
