काठमाडौँ- त्रि–ज्योति मा.वि. कपनले कक्षा ८, ९ र १० मा अध्ययनरत बालबालिकाहरूका लागि आयोजित ‘साहित्यकारसँग एक दिन’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा साहित्य लेखन, यसको महत्त्व र जीवनको सार्थकताको बारेमा पत्रकार, स्तम्भकार र साहित्यकार पुरुषोत्तम दाहालसँग साक्षात्कार गरिएको थियो।
त्रि–ज्योति मा.वि.का प्राचार्य गणेशकुमार मिश्रको अध्यक्षता र विद्यालय संयोजक प्रवीण श्रेष्ठको उद्घोषणमा आयोजित एक दिवसीय कार्यक्रमबाट बालबालिकामा साहित्य लेखनको महत्त्व बुझाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
बालबालिकाहरूले सानैदेखि लेखन, पठन र चिन्तन गर्ने बानीको विकास गराउनु पर्ने धारणा राखिएको सो कार्यक्रममा साहित्य मस्तिष्क, हृदय र विचारमा उत्पन्न हुने कुरा बताइएको थियो । प्रतिभा, व्युत्पत्ति र अभ्यासबाट साहित्यकार बन्न सकिने धारणा साहित्यकार पुरुषोत्तम दाहालले राखेका थिए।
बालबालिकामा लेखन र पठन संस्कृति घट्दै गएको स्थितिमा त्रि–ज्योति मा.वि.ले गर्दै आएको ‘साहित्यकारसँग एक दिन’ कार्यक्रमलाई सबैले अनुकरण गर्नु पर्ने विचार दाहालले राखे । सोही सिलसिलामा आफ्नी धर्मपत्नी शान्ता दाहाल पोखरेलले बिरामी मामाको जीवन रक्षाको लागि मिर्गौला दान गरे पछिको पीडापूर्ण स्थितिमा रचिएको ‘शान्ता उपन्यास’ रगतको आँसुले सिर्जित उपन्यास रहेको उनले बताए। मानवतावाद, यथार्थवाद, स्वास्थ्य सचेतना, नारी त्यागको दृष्टान्त, सङ्घर्ष र सार्थकताको नमुना र मान्छेको जीवनको मूल्यको बोध गराउन आफूले ‘शान्ता उपन्यास’ रचना गरेको उनको भनाई थियो। पत्रकारिता, साहित्य, राजनीति शास्त्र, मानव अधिकार र स्वतन्त्रताको पक्षमा निर्भीक भएर कार्य सम्पादन गरेको स्मरण गराउँदै बालबालिकाहरूलाई पनि निर्भीक, अनुशासित र परिश्रमी भएर काम गर्दै जानु पर्ने प्रेरणा दाहालले प्रदान गरे । त्रि–ज्योति मा.वि.को अध्यापन शैली र कार्यप्रति आफू पूर्ण सन्तुष्ट रहेको धारणा राख्दै उत्तरोत्तर प्रगतिको कामना गरे ।
त्रि–ज्योति मा.वि.का अन्जु लामा, मनोज गौतम, विमला चालिसे, सुशान्त बाराकोटी, दामोदर दाहाल, नवीन खतिवडाहरूको प्रत्यक्ष उपस्थितिमा आयोजित सो कार्यक्रम प्रभावकारी र भव्य बनेको थियो ।
