काठमाडौँ- बुढानीलकण्ठ–१२, कपनमा रहेको त्रि–ज्योति मा.विले चौथो त्रि–ज्योति अन्तर कक्षागत नृत्य एवम् सङ्गीत प्रतियोगिता सम्पन्न गरेको छ। मंगलबार विद्यालयमा अध्ययनरत बालबालिकाहरूको उत्साहजनक सहभागितामा प्रतियोगिता सम्पन्न भएको हो । विद्यालयमा कक्षा ५ देखि १० सम्म अध्ययनरत बालबालिकाभित्र रहेको नृत्य र साङ्गीतिक प्रतिभाको वास्तविक रूपमा मूल्याङ्कन गर्ने प्रयोजनले आयोजना गरिएको आयोजकको भनाई छ।
विद्यालयका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बुनपा–१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा अन्य आमन्त्रित अतिथिहरू सहित विद्यालयका शिक्षक/शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सङ्गीततर्फ १५ समूह र नृत्यतर्फ १५ समूह सहभागी भएका थिए।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक गणेशकुमार मिश्रले बालबालिका भोलिका सम्भावना भएकोले आजदेखि नै उक्त वातावरण तयार गरिएको बताए । ‘सिप र शिक्षा: त्रि–ज्योतिको इच्छा’ भन्ने आदर्शलाई प्रयोगात्मक रूपमा उतार्दै भोलिको सार्थक र दक्ष नागरिक निर्माणमा त्रि–ज्योतिले सङ्कल्प राखेको उनले उल्लेख गरे ।
जुनियर र सिनियर गरी दुई तहमा गरिएको नृत्य र सङ्गीतको मूल्याङ्कनमा नृत्यतर्फ प्रथम कक्षा–७ कोसी, द्वितीय कक्षा –६ कोसी र तृतीय कक्षा –६ मेचीले पाएका थिए भने सङ्गीततर्फ प्रथम कक्षा–७ मेची, द्वितीय कक्षा–६ कोसी र तृतीय स्थान कक्षा –७ कोसीले प्राप्त गरे । त्यसैगरी सिनियर तर्फको नृत्यमा प्रथम कक्षा– ८ मेची, द्वितीय कक्षा–९ कोसी र तृतीय स्थान कक्षा –१० कोसीले प्राप्त गरे भने सङ्गीत विधामा प्रथम कक्षा– ९ मेची, द्वितीय कक्षा–८ कोसी र तृतीय स्थान कक्षा –१० मेचीले हात पार्न सफल भयो ।
विभिन्न कक्षाका विजयी विद्यार्थीहरूलाई विद्यालयका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदी, सञ्चालक सदस्य विष्णुहरि न्यौपाने र विद्यालयका प्राचार्य गणेशकुमार मिश्रले मेडल, ट्रफीद्वारा सम्मान तथा पुरस्कृत गरेका थिए। कार्यक्रममा नृत्य विधाको मूल्याङ्कन कर्ताको रूपमा अर्जुन बिसी र सङ्गीत विधाको मूल्याङ्कनकर्ताको रूपमा सञ्जीव पुडासैनी रहेका थिए ।
कार्यक्रमका प्रमुख प्रमुख अतिथि भट्टराईले त्रि–ज्योतिले निजी विद्यालयको भीडमा पृथक् ढङ्गले बालबालिकाको समग्र हितमा काम गरिरहेको आफूले पाएको धारणा राखे। बुनपा–१२ मा रहेका निजी विद्यालयमध्ये बालबालिकाको समग्र हितको लागि त्रि–ज्योतिको योगदान प्रधान रहेकोले आगामी दिनमा त्रि–ज्योतिको शैक्षिक गतिविधिलाई अरू विद्यालयमा पनि लैजानको लागि नगरपालिकाले साथ दिन र लिन तयार रहेको भनाइ उनले राखे।
कार्यक्रमका सभापति सुवेदीले प्रतिस्पर्धामा सहभागी सबै विद्यार्थीहरूले प्रथम स्थान प्राप्त गरे सरह नै भएको धारण राखे । त्रि–ज्योति बालबालिकाको सफलताका लागि सक्रिय रहेकोले भोलिका दिनमा पनि बालबालिका मैत्री कार्यक्रम सञ्चालन गर्दै जाने विश्वास दिलाए । उनले यस्ता कार्यक्रमले बाल प्रतिभाको उजागर गर्न मद्दत पुर्याएको विचार मन्तव्यका क्रममा व्यक्त गरे । बालबालिकाको नृत्य र सङ्गीत सहितको गायन उत्कृष्ट रहेको विचार राख्दै यस्तो अभ्यासले कार्यक्रममा उपस्थित निर्णायकहरू जस्तै गरी भोलिका दिनमा परिचित हुन सक्ने सम्भावना त्रि–ज्योतिका बालबालिकाहरूमा रहेको धारणा प्रकट गरे ।
त्रि–ज्योति मा.वि. का स्कुल कोअर्डिनेटर प्रवीण श्रेष्ठ, सङ्गीत प्रशिक्षक पवन अधिकारी, गोपाल पहाडी, नृत्य प्रशिक्षक किसन भुसाल लगायतका क्षेत्रगत र विधागत जिम्मेवारी लिएका शिक्षकहरूको सक्रिय सहभागिताबाट सम्पन्न उक्त कार्यक्रमको सञ्चालन आकृति घिसिङ, सृष्टि सुनुवार र अन्जु लामाले गरेका थिए ।
