Matra Education आइतबार, साउन १० २०८३

सेन्ट लरेन्स एसइई कप फुटसलको उपाधि समृद्धि स्कुललाई

सेन्ट लरेन्स एसइई कप फुटसलको उपाधि समृद्धि स्कुललाई

  • मात्र एजुकेशन
  • मंगलबार, असार ५ २०८१


काठमाडौँ- चाबहिल स्थित सेन्ट लरेन्स कलेजले आयोजना गरेको एसइई कप फुटसलको उपाधि समृद्धि स्कुलले जितेको छ। सोमबार चुच्चेपाटी स्थित भाटभटेनी फुटसलमा भएको फाइनल खेलमा इन्साइट भिजन स्कुललाई १-० गोल अन्तरले पराजित गर्दै समृद्धिले उपाधि चुमेको हो। देशभर बाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूले सहभागिता जनाउन पाउने गरी आयोजना गरिएको प्रतियोगितामा कुल ३० टोलीको सहभागिता रहेको थियो। प्रतियोगिता असार १ देखि ३ सम्म सञ्चालन गरिएको थियो।

उपाधि जिते सँगै समृद्धि स्कुलले मेडल, ट्रफी र प्रमाणपत्र सहित नगद रु २५ हजार पुरस्कार प्राप्त गरेको छ। त्यस्तै उक्त टोलीका प्रत्येक सदस्यहरूले सेन्ट लरेन्स कलेजमा कक्षा ११ र १२ पढ्नका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । त्यसबाहेक उपाधि प्रदान गरिएका अन्य तिन वटै विधामा आफ्नो दबदबा कायम गरेको समृद्धिका खेलाडीहरू क्रमशः सबैभन्दा धेरै गोल गर्ने निर्भीक थापा, सर्वोत्कृष्ट गोल रक्षक विजय गुरुङ र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भविष्य शाहले पनि आ-आफ्नो विधाको पुरस्कार सहित सेन्ट लरेन्स कलेजमा कक्षा ११ र १२ पढ्नका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरे।

यता उपविजेता बनेको इन्साइट भिजन स्कुलले मेडल, ट्रफि र प्रमाणपत्र सहित नगद रु १५ हजार पुरस्कार प्राप्त गरेको छ। उक्त टोलीका सबै सदस्यहरूले सेन्ट लरेन्स कलेजमा कक्षा ११ र १२ पढ्नका लागी ७५% छात्रवृत्ति प्राप्त गरेका छन् ।

फाइनल खेल पछि आयोजित पुरस्कार वितरण समारोहमा नेपाली राष्ट्रिय टिमका खेलाडी भरत खवास प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले पढाई सँगै खेलकुदलाई पनि प्रोत्साहन गरेकोमा आयोजक सेन्ट लरेन्सलाई धन्यवाद दिए। विजयी टोलीलाई बधाई र उपविजेतालाई अर्को पटकका लागि शुभकामना दिएका उनले अण्डर १९ र अण्डर २३ साफको लागि छनोट छिटै हुन लागेको भन्दै एन्फाको वेबसाइटमा सूचना हेरेर आवेदन दिन र राष्ट्रिय टिम बाट खेल्ने आफ्नो सपना पुरा गर्न सुझाव दिए।

प्रतियोगिता समापन गर्दै सेन्ट लरेन्स कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदीले सबैको साथका कारण कार्यक्रम सफल बनाउन सकिएको भन्दै आभार व्यक्त गरे। खेलकुद पनि सिकाइको अभिन्न अङ्ग भएकाले सेन्ट लरेन्सले स्वस्थ शरीर र मस्तिष्क विकासका लागि कार्यक्रम आयोजना गरेको बताएका उनले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरू कलेजले आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रतियोगितामा आफ्नो क्षमता देखाएर नगद पुरस्कारका साथै प्लस टु पढ्नका लागि आकर्षक छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीहरूलाई उनले बधाई दिए। सेन्ट लरेन्स यस्ता क्षमतावान् खेलाडीहरूलाई स्वागत गर्न र उनीहरूको प्रतिभा विकास गर्दै सुनिश्चित भविष्यको बाटो देखाउन तत्पर रहेको सुवेदीले बताए।

थप तस्बिरहरु हेर्न यहाँ थिच्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड