Matra Education आइतबार, साउन १० २०८३

सेन्ट लरेन्स एसइई कप फुटसल आजदेखि, विजेतालाई यति धेरै पुरस्कार

सेन्ट लरेन्स एसइई कप फुटसल आजदेखि, विजेतालाई यति धेरै पुरस्कार

  • मात्र एजुकेशन
  • शनिबार, असार २ २०८१


काठमाडौँ- चाबहिल स्थित सेन्ट लरेन्स कलेजले आयोजना गरेको एसइई कप फुटसल सुरु भएको छ। देशभर बाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूले सहभागिता जनाउन पाउने गरी प्रतियोगिता आयोजना गरिएको हो। असार १ र २ गते चुच्चेपाटी स्थित भाटभटेनी फुटसलमा प्रतियोगितात्मक खेल खेलाइने र ३ गते एक विशेष कार्यक्रम आयोजना गरी विजेतालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा कुल ३० टोलीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा सहभागी टोलीहरूको हौसला बढाउनका लागि कलेजले विशेष पुरस्कारको व्यवस्था गरेको छ। मात्र एजुकेसनलाई प्राप्त विवरण अनुसार फुटसल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले मेडल, ट्रफी र प्रमाणपत्र सहित नगद रु २५ हजार पुरस्कार पाउनेछ। त्यस्तै उक्त टोलीका प्रत्येक सदस्यहरूले सेन्ट लरेन्स कलेजमा कक्षा ११ र १२ पढ्नका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा फस्ट रनर अप हुने टोलीले मेडल, ट्रफि र प्रमाणपत्र सहित रु १५ हजार पुरस्कार प्राप्त गर्नेछ। उक्त टोलीका सदस्यहरूले सेन्ट लरेन्स कलेजमा कक्षा ११ र १२ पढ्नका लागी ७५% छात्रवृत्ति प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सबैभन्दा धेरै गोल गर्ने खेलाडी र सर्वोत्कृष्ट गोल रक्षकले पनि प्लस टु पढ्नका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन् । त्यसबाहेक अझै रोचक त कलेजले कुनै खेल नजिते पनि सहभागी हुने टोलीलाई प्रोत्साहन गर्नका लागि प्रत्येक टोलीका सदस्यहरूलाई फुटसल प्रतियोगितामा भाग लिए बापत प्लस टु पढ्नका लागि ५०% छात्रवृत्ति प्रदान गर्नेछ। प्रतियोगिताका १८ खेल आज सम्पन्न हुनेछन् भने बाँकी खेल भोलि खेलाइनेछ।

प्रतियोगिता बारे मात्र एजुकेसन सँग कुरा गर्दै सेन्ट लरेन्स कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदीले खेलकुद पनि सिकाइको अभिन्न अंग भएकाले सेन्ट लरेन्सले स्वस्थ शरीर र मस्तिष्क विकासका लागि कार्यक्रम आयोजना गरेको बताए। आजको प्रतिस्पर्धात्मक विश्वमा पढाई सँगै विद्यार्थीहरूमा भएको क्षमता र प्रतिभा पनि उजागर गर्नुपर्छ र त्यसलाई विकास गरेर उनीहरूको भविष्य निर्माण गर्नुपर्छ भन्ने मान्यता कलेजले राख्दै आएको उनको भनाई थियो। यस्ता प्रतियोगिता क्षमता भएका योग्य विद्यार्थीहरूलाई प्लस टु अध्ययनमा छात्रवृत्ति प्रदान गरेर प्रोत्साहन गर्नका लागि पनि उपयोगी हुने उनले बताए। कलेजले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको र आगामी वर्ष पनि जारी राख्ने सुवेदीले जानकारी दिए।

आगामी असार ३ गते एक औपचारिक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरेर कार्यक्रम समापन गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड