Matra Education आइतबार, साउन १० २०८३

टेक्सास करियर फेयर २०२४ सम्पन्न

टेक्सास करियर फेयर २०२४ सम्पन्न

  • मात्र एजुकेशन
  • शुक्रबार, जेष्ठ २५ २०८१


काठमाडौँ- चाबहिलमा रहेको टेक्सास कलेजले ‘टेक्सास करियर फेयर २०२४’ सम्पन्न गरेको छ। शुक्रवार कलेजको सिफल ब्लकमा आयोजित एक कार्यक्रमका बिच विद्यार्थीहरूलाई उनीहरूको करियरको सुरुवाती कामका लागि विभिन्न प्रसिद्ध कम्पनी सँग जोड्दै कलेजले करियर फेयर सम्पन्न गरेको हो।

विद्यार्थीलाई पढाउने मात्रै नभई उनीहरूलाई योग्य, दक्ष र क्षमतावान् बनाई विश्व बजारमा बिक्ने जनशक्ति बनाउनुपर्छ भन्ने मान्यता राख्ने टेक्सास कलेजले सोही उद्देश्य पूर्तिका लागि कार्यक्रम आयोजना गरेको जनाएको छ। कलेजले विगत देखि नै गर्दै आएको यो कार्यक्रमको छैटौँ संस्करण शुक्रवार सम्पन्न भएको हो।

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै टेक्सास इन्टरनेसनल कलेजका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले कलेजले आफ्ना विद्यार्थीहरूलाई सुनौलो भविष्यको सुरुवात गर्ने उपयुक्त मौका दिएको बताए। उनले फेयरमा सहभागी हुन आएका सबै कम्पनीहरू र विद्यार्थीहरूलाई स्वागत गर्दै कार्यक्रम विगतका वर्षहरूमा भन्दा अझै बढी प्रभावकारी र उपयोगी हुने विश्वास व्यक्त गरे।

त्यस्तै कलेजका अध्यक्ष भेस राज पोखरेलले जीवनको पहिलो अन्तर्वार्ता दिन लागेका विद्यार्थीलाई शुभकामना दिए। यस्ता कार्यक्रमले आफ्ना विद्यार्थीहरूको वास्तविक स्तर मापन गर्न कलेजलाई पनि सहज हुने भन्दै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने जनाए।

त्यस्तै कलेजका एकेडेमिक हेड तथा त्रिवि व्यवस्थापन संकायका पूर्व डिन प्रा.डा. गोविन्द प्रसाद आचार्यले आफ्नै कलेजमा विभिन्न कम्पनीहरू आएर जागिर दिन्छु भन्नु विद्यार्थीहरूका लागि सुनौलो अवसर भएको बताए। उनले विद्यार्थीहरूलाई आफ्नो रुचि र कम्पनीको उद्देश्य मिल्ने कम्पनी छानेर अन्तर्वार्ता दिन सुझाव दिए। टेक्ससले यस्ता कार्यक्रम गर्दा विद्यार्थीहरूले आफ्नो क्षमता देखाएको र संसारलाई कलेजले के दिन सक्छ भन्ने देखाएको हुँदा यस्ता कार्यक्रम नियमित राखिने उनको भनाइ थियो।

कार्यक्रममा कलेजले फोर्ब्स पत्रिकाले सूचीकरण गरेको सुचीमा ३० वर्ष मुनिका महिला उद्यमीहरूको सुचीमा पर्न सफल उद्यमी श्रेया गिरिलाई सम्मान समेत गरेको थियो। मानसिक स्वास्थ्य सँग सम्बन्धित संस्था ‘ह्याप्पी माइन्ड्स’ की संस्थापक गिरिले कार्यक्रमको विशेष अतिथिका रूपमा कार्यक्रमलाई सम्बोधन पनि गरेकी थिइन्। उनले आफूले अध्ययन गरेको कलेजमा आयोजना गरिएको यस्तै करियर फेयरहरूमा भाग लिँदै गर्दा इन्टर्नसिप गर्न पाएको र गुगल जस्तो प्रतिष्ठित कम्पनी सँग समेत जोडिएको उल्लेख गरिन्। कसैको व्यक्तिगत विवरण ‘सिभि’ ले उसको क्षमता निर्धारण गर्ने नभई उ सँग भएको ज्ञान, सिप र कामप्रतिको लगावले निर्धारण गर्ने बताएकी उनले कलेजमा आयोजना हुने यस्ता फेयरहरूले विद्यार्थीलाई व्यक्तित्व विकासको अवसर दिने बताइन्। उनले कार्यक्रम सफलताको कामना गर्दै आमन्त्रण र सम्मानका लागि कलेजप्रति आभार व्यक्त गरिन्।

नेपालका प्रसिद्ध ५८ ओटा कम्पनीहरूले स्टल राखेर कलेज परिसरमै विद्यार्थीहरूको अन्तर्वार्ता गरेका थिए। उनीहरूले आफूलाई चित्त बुझ्दो विद्यार्थीलाई कामको प्रस्ताव समेत गरेका थिए। छानिएका विद्यार्थीहरूले उनीहरूको क्षमता अनुसारको काम र इन्टर्नसिपको अवसर प्राप्त गरेका छन्।

उद्घाटन समारोहका तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड