काठमाडौँ- काठमाडौँ महानगर क्षेत्रभित्र भएका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूले यो वर्ष करिब २ अर्ब बराबरको छात्रवृत्ति प्राप्त गरेका छन्। महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी गराएका हुन्। एउटा कानुन कार्यान्वयनले यो वर्ष १९,००० भन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएको उनको दाबी छ ।
गत वर्ष ४६५ निजी विद्यालयले १३००० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिएका थिए । यो वर्ष भने हिजो बुधवार सम्म विवरण बुझाउने विद्यालयको सङ्ख्या ४७३ पुगेको छ। नगर प्रमुख शाहका अनुसार १,४९,९५६ विद्यार्थी भर्ना भएका मध्ये १८,४२२ जनाले छात्रवृत्ति पाएका छन्।
महानगरले प्राप्त भएको विवरणको अनुगमन गर्ने र फरक पाइएमा कानुन बमोजिम कारबाही गर्ने जनाएको छ। हाल सम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिनको समय दिई विवरण पेस गर्नका लागि सार्वजनिक सूचना प्रकाशन गरेको महानगरले ३ दिन भित्र विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रूपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गर्ने जनाएको छ ।