काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) को गोकर्णेश्वर नगर कमिटीले विद्यालयका सहयोगी महिला कर्मचारी (आया) हरूका लागि आयोजना गरेको एक दिने तालिम सम्पन्न भएको छ। शनिवार आयोजित उक्त कार्यक्रममा विभिन्न विद्यालयका ३५ जना सहभागीहरूले बालबालिकाहरूलाई हेरचाह, सरसफाइ , स्वास्थ्य र काम प्रति वफादार कसरी बन्ने भन्ने विषयमा छलफल गर्ने तथा प्रशिक्षण प्राप्त गर्ने अवसर पाएका थिए।
अपेन गोकर्णेश्वरका अध्यक्ष तथा शुभकामना स्कुलका सञ्चालक प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संयोजन शुभ बिहानी किड्स होमकी प्रधानाध्यापक सिता पाण्डेले गरेकी थिइन् भने प्रशिक्षक शिल्पा भण्डारीले प्रशिक्षण दिएकी थिइन्। बर्सौँ सेवा गरेको अनुभव भए पनि यस किसिमको तालिम पहिलोपल्ट लिएको भन्दै सहभागीहरू उत्साहित देखिन्थे।
कार्यक्रममा अपेन आबद्ध विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको पनि सहभागिता रहेको थियो भने सहभागीलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

