काठमाडौँ- बाल साहित्यकार तथा उपन्यासकार उन्नति बोहरा दोस्रो स्रष्टा जय पृथ्वी बहादुर सिंह सम्मान-२०८१ द्वारा सम्मानित भएकी छिन्। मण्डिखाटारमा रहेको द राइजिङ स्टार बोर्डिङ स्कुलले गत वर्ष स्थापना गरेको उक्त सम्मानको दोस्रो संस्करणमा बोहरालाई विद्यालयले सम्मान गरेको हो। गत वर्ष यो सम्मान बाल साहित्यकार प्राज्ञ लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको थियो।
सम्मानित साहित्यकारलाई नगद रु पाँच हजार, प्रमाण पत्र र ट्रफीले सम्मानित गरिएको छ। समान कार्यक्रमका साथमा विद्यालयले ‘बाल साहित्यकारहरू सँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम’ पनि राखेको थियो। मंगलबार विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा साझा प्रकाशनका पूर्व महानिर्देशक तथा गीतकार, बाल साहित्यकार नवराज कार्की प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा साहित्यकारहरू रन्जु श्री पराजुली, जलेश्वरी श्रेष्ठ, छाया दत्त न्यौपाने, श्रीराम राई, गोपीकृष्ण प्रसाईँ, भागीरथी श्रेष्ठ, निर्मला बराल, बिन्दु सुवेदी, सबिना पोखरेल, नवीन पन्त लगायतको उपस्थिति रहेको थियो।
आयोजक विद्यालयका विद्यार्थीहरूले सम्मानित साहित्यकार बोहरा द्वारा रचित ‘फर्की आऊ शान्ति तिमी’ बोलको गीत गाएर सबैलाई भावुक बनेका थिए। त्यस्तै कार्यक्रममा कथाकार/नाटककार लक्ष्मी उप्रेती द्वारा लिखित। डाँडाको सुरुङ कथा र अंशु नङ नटोक्ने भइन नाटकको समीक्षा गरेका थिए। उक्त समीक्षामा विद्यार्थीहरू समृद्धि पन्थ, आरभ अर्याल, स्वस्तिका गौतम, जेनिश केसी, साम्राज्ञी दाहाल लगायत विद्यार्थीहरू सहभागी थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाली भाषा साहित्यको विकासका लागि जय पृथ्वी बहादुर सिंहको योगदान बारे चर्चा गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार उप्रेतीले साहित्यलाई प्रोत्साहन गरेकोमा आयोजक विद्यालयलाई धन्यवाद दिइन्। उनले सम्मानित साहित्यकारलाई बधाई दिँदै आगामी यात्राका लागि शुभकामना दिइन्। साना विद्यार्थीहरूको साहित्य प्रतिको लगाव र चासो देखेर आफू उत्साहित भएको उनको भनाई थियो।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि कार्कीले पनि विद्यालयलाई साहित्यिक कार्यक्रम आयोजना र साहित्यकार सम्मान गर्ने संस्कार बसालेकोमा धन्यवाद दिए।
कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै आयोजक द राइजिङ स्टार बोर्डिङ स्कुलका प्रधानाध्यापक कृष्ण कुमार बोहराले बालबालिकालाई उनीहरूले पढ्दै आएको साहित्यका लेखक कस्ता हुन्छन् ? विभिन्न विधाका कृतिहरू कसरी रचिन्छन् ? लगायत विषयमा जानकारी गराउने र उनीहरूको साहित्य प्रतिको बुझाइको दायरा बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। विद्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रम जारी राख्ने उनको भनाई थियो।

