Matra Education आइतबार, साउन १० २०८३

चौथो राष्ट्रव्यापी एसइई खुला निबन्ध प्रतियोगिता आयोजना गर्दै रिलायन्स कलेज

चौथो राष्ट्रव्यापी एसइई खुला निबन्ध प्रतियोगिता आयोजना गर्दै रिलायन्स कलेज

  • मात्र एजुकेशन
  • सोमबार, जेष्ठ ७ २०८१


काठमाडौँ- सरस्वतीनगर चाबहिल स्थित रिलायन्स कलेजले चौथो राष्ट्रव्यापी एसइई खुला निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । देशभर बाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीहरू सहभागी हुन पाउने गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो। केही वर्ष अघि देखि नियमित हुँदै आएको यो प्रतियोगिताको चौथो संस्करणका लागि “विकासको आधार: सिप, प्रविधि र पूर्वाधार” शीर्षक तोकिएको छ। उक्त शीर्षकमा निबन्ध लेखेर जेठ ७ गते देखि असार १० गते सम्म पठाउनु पर्ने छ।

कलेजका प्रधानाध्यापक रविन्द्र जंग थापाका अनुसार निबन्ध नेपाली वा अङ्ग्रेजी भाषा मध्ये कुनै एक भाषामा लेखेर पठाउनु पर्नेछ। निबन्ध कलेजले दिएको इमेल ठेगाना (eca.cca@ria.edu.np), वा भौतिक रूपमा उपस्थित भएर कलेजमै पनि बुझाउन सकिनेछ। देशभरका एसइई दिएका विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा सहभागी मध्ये १३ उत्कृष्ट विद्यार्थीलाई नगद, प्लस टु अध्ययनका लागि आकर्षक छात्रवृत्ति, प्रमाण पत्र र अन्य पुरस्कार प्रदान गरिने कलेजका शैक्षिक निर्देशक वीरेन्द्रकुमार मेहताले बताए । उनका अनुसार देशभरिबाट संकलन हुने निबन्ध मध्ये प्रथम हुने एक जनालाई रु. १५००० नगद, कक्षा ११ को भर्नामा १००% छुट, १२ महिनाकै मासिक शुल्क छुट गरिने छ । द्वितीय हुने एक जनालाई नगद रु.१०,००० कक्षा ११ को भर्नामा १००% छुट, ९ महिनाको मासिक शुल्क छुट गरिने छ । त्यस्तै तृतीय हुने एक जनालाई कक्षा ११ को भर्नामा १००% छुट, र ६ महिनाको मासिक शुल्क छुट गरिने छ । साथै सान्त्वना हुने १० जनालाई कक्षा ११ को भर्नामा ५०% छुट, २ महिनाको मासिक शुल्क छुट प्रदान गरिने छ । त्यसका अलावा १३ जनालाई नै प्रमाण पत्र तथा अन्य पुरस्कारहरूबाट समेत सम्मान गरिने छ।

सामाजिक उत्तरदायित्वलाई बहन गर्ने र एसइई दिएर बसेका विद्यार्थीहरूको लेखन एवं सृजनात्मक कलालाई उजागर गर्ने उद्देश्यका साथ संस्थाले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको र यसको नतिजा प्रकाशन २०८१ साल असार २० गते कलेजको आधिकारिक फेसबुक पेज मार्फत घोषणा गरिने कलेजका अतिरिक्त क्रियाकलाप विभाग संयोजक गोविन्द ढकालले बताए। उनका अनुसार विजेता विद्यार्थीहरूलाई कलेजको सभाहलमा भव्य पुरस्कार वितरण कार्यक्रम आयोजना गरी पुरस्कारहरू प्रदान गरिने छ ।

विगत तिन शृङ्खला अत्यन्त सफलताका साथ सम्पन्न भएको यो राष्ट्रव्यापी निबन्ध प्रतियोगिताको प्रथम संस्करणको विजेता मन्टेश्वरी सेकेण्डरी स्कुल इलामकी आस्था ढकाल रहेकी थिइन् भने द्वितीय संस्करणको विजेता श्री बरुणेश्वर मावि ओखलढुङ्गाकी सामना खतिवडा रहेकी थिइन्। त्यस्तै गत वर्षको तृतीय संस्करणको विजेता लालीगुराँस मावि ओखलढुङ्गाका रोहन खतिवडा रहेको जानकारी आयोजकले दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड