Matra Education आइतबार, साउन १० २०८३

दोस्रो ठुलो घटकलाई बाहिरै राखेर घोषणा भयो शिक्षक महासङ्घको नयाँ नेतृत्व, कसरी मिल्ला विवाद?

दोस्रो ठुलो घटकलाई बाहिरै राखेर घोषणा भयो शिक्षक महासङ्घको नयाँ नेतृत्व, कसरी मिल्ला विवाद?

  • मात्र एजुकेशन
  • बिहिबार, बैशाख २७ २०८१


काठमाडौँ- नेपाल शिक्षक महासङ्घको नयाँ कार्यसमिति घोषणा भएको छ। बिहीबार सुकेधारा स्थित नवदुर्गा पार्टी भेन्युमा आयोजित नवनिर्वाचित पदाधिकारी परिचय तथा घोषणा सभामा यस अघिका महासचिव लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा निर्मित महासङ्घको नयाँ कार्यसमिति बारे जानकारी गराइएको हो। गत वैशाख १० गते उद्घाटन सत्र सम्पन्न भएको महाधिवेशनमा उत्पन्न विवादका कारण नयाँ नेतृत्व घोषणा हुन सकेको थिएन। १७ दिनपछि नयाँ कार्यसमिति घोषणा गरे पनि वैधानिक रूपमा महाधिवेशन नगरिएको भन्दै बहिस्कार गरेको दोस्रो ठुलो घटक नेपाल राष्ट्रिय शिक्षक सङ्गठनलाई उपस्थित गराउन भने महासङ्घले सकेन ।

बिहीबार घोषित नयाँ कार्यसमितिमा नानुमाया पराजुलीलाई सह अध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस्तै उपाध्यक्षमा गंगा पौडेल, जयानन्द ठाकुर, हरेन्द्र प्रसाद चौरसिया, पुष्पराज कुँवर, विक्रम झा, देविदत्त पौडेल रहेका छन् भने उपमहासचिव अर्थमा मदनराज जोशी र उपमहासचिव गुरु प्रसाद पौडेल र पुष्कर सापकोटा रहेका छन् । यसैगरी सचिवमा कल्पना पनेरु, केशव राज रेग्मी, अर्जुन नगरकोटी, जगदीश शाह, लालबाबु प्रसाद जोशी, हरि प्रसाद जोशी र सुरेश शाह सोमर चयन भएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको भागमा परेको पदाधिकारीहरूको पद भने खाली राखिएको छ । सङ्गठनको भागमा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव १, सचिव १ र सदस्य ६ गरी ११ जनाको पद परेको छ।

कार्यक्रममा उपस्थित अधिकांश वक्ताहरूले सबैलाई मिलाएर लाने प्रयास सफल नभएको भन्दै दुख व्यक्त गरे । उनीहरूले सबै घटकहरू एक ठाउँ हुँदा मात्र महासङ्घ शक्तिशाली हुने भन्दै छिटै समस्याको समाधान खोजेर विवाद मिलाउन सुझाव दिए।

किन आएन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन?
त्यसो त शिक्षक महासङ्घको निवर्तमान राष्ट्रिय समिति शिक्षक सङ्गठनकै नेतृत्वमा थियो। वैशाख १० गते महाधिवेशन गर्नका लागि भएका तयारी बैठकहरू पनि तत्कालीन अध्यक्ष कमला तुलाधरकै नेतृत्वमा भएका थिए। तर यो महाधिवेशन गर्ने तयारी हुँदै गर्दा वैधानिक प्रक्रिया मिच्न खोजिएको, एकलौटी गरिएको लगायतका आरोप लगाउँदै सङ्गठनले महाधिवेशनमा सहभागी नहुने निर्णय गरेपछि कमला तुलाधरको अध्यक्षतामा हुनुपर्ने महाधिवेशनको उद्घाटन सत्र सह-अध्यक्ष नानीमाया पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो। महासङ्घको विधान अनुसार निर्वाचन बाट पदाधिकारी चुन्ने नभई आबद्ध घटकहरूको भागमा परेको पदाधिकारीहरू सम्बन्धित घटकले सिफारिस गर्ने र सोही अनुसार नयाँ समिति घोषणा गर्ने व्यवस्था अनुरूप सबै घटक सँग नाम मागिएको थियो। १७ गते सम्मको समय दिएर घोषणा गर्ने भनिए पनि विवाद समाधान हुन नसक्दा महासङ्घको नयाँ नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको थियो। शिक्षक सङ्गठन आज पनि महाधिवेशन वैधानिक नभएको भन्ने अडानमा रहेका कारण वार्ता समितिले पनि कुनै निचोड निकाल्न सकेन र आजको घोषणा सभामा उक्त सङ्गठन अनुपस्थित रह्यो।

दोस्रो ठुलो घटकले नै महाधिवेशन बहिस्कार गरेको विषयमा हामीले थप बुझ्ने प्रयास गरेका थियौँ। नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव हंस शाही आफूहरूले महाधिवेशन बहिस्कार गरेको नभई विधानले गरेको व्यवस्था अनुरूप सम्पन्न हुनुपर्छ भनेर माग राखेको बताउँछन् । मात्र एजुकेसन सँगको संवादमा उनले बलियो र सशक्त महासङ्घ बनाउनु पर्छ भन्ने आफूहरूको माग भए पनि विधान विपरीत गरिएको भनिएको महाधिवेशनलाई मान्न नसकिने बताए। विधि, विधान छोडेर जे मन लाग्यो त्यही गर्ने छुट कसैलाई नभएको भन्दै उनले महासङ्घको अधिवेशन, महाधिवेशन विधानले गरेको व्यवस्था अनुरूप हुनुपर्नेमा जोड दिए। सङ्गठनका आधिकारिक धारणाहरू भोलि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने उनले बताए।

नवनिर्वाचित अध्यक्ष सुवेदीले सबैलाई मिलाएर लानु आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै त्यसका लागि विधि र विधान भित्र रहेर अधिकतम लचकता अपनाउन तयार रहेको बताए। उनले शिक्षक सङ्गठन महासङ्घमा आबद्ध एउटा जिम्मेवार सङ्गठन भएकाले समस्या छिटै समाधान हुने विश्वास व्यक्त गरे। वार्ता समितिले पनि आफ्नो काम गरिरहेको र अब आफूहरूले पनि थप प्रयास गर्ने भन्दै सुवेदीले विवाद छिटै समाधान हुनेमा आश्वस्त हुने अनुरोध गरे।

थप तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड